देउवा समर्थकले गमला हान्दा कुन्दन काफ्ले घाइते

391

माघ १३,
काठमाडौँ । रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका हुन् । नेपाल विद्यार्थी संघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता अनसन जारी छ । काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

सो क्रममा दुई पक्षबीच झडप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चोट लागेको छ । प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्रहार गरेका थिए भने दुबै पक्षबीच मुक्का हानाहान समेत भएको थियो ।
अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि विवाद हुँदै हात हालाहाल र गमला प्रहारसम्मको अवस्था निम्तिएको हो ।

यसैबीच अनसनरत समूहमाथि आक्रमण भएको भन्दै काँग्रेस नेता अर्जुन नरसिंह केसीले विरोध गरेका छन् । अनसनस्थलमा पुगेर केसीले बूढानीलकण्ठमा नेविसंघको तदर्थ समिति गठनबारे भएको सहमतिमा आफ्नो सहमति नरहेको बताए । उनले अनसनरत समूहमाथि भएको आक्रमणको पार्टी सभापति सामु कुरा राख्ने पनि बताए । पार्टी कार्यालयमा ४० दिनसम्म रिले अनसन बसेका समूहले आजदेखि आमरण अनसन थालेको छ । उनीहरुले कुनैपनि हालतमा ३२ वर्ष मुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्ने माग गर्दै आएका छन् ।