के हो कोरोना भाइरस ? सतर्क रहनुको विकल्प छैन

235

माघ ९,
काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले अमेरिकासम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले हाललाई स्वास्थ्य इमर्जेन्सी लागू गरिसकेको छैन । चीनको वुहानमा देखिएको नयाँ कोरोना भाइरस सर्पबाट मानिसमा सरेको पेकिङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अनुसन्धान प्रकाशित भएको छ । यो तथ्य सार्वजानिक भएसँगै आफू अचम्ममा परेको बताउँछन् डाक्टर शेर बहादुर पुन । ‘यो भाइरसबारे धेरै तथ्यहरु आइसकेको छैन, अहिले आएका तथ्यहरु अचम्ममा पार्ने खालका छन्’ डाक्टर पुन भन्छन्, ‘एकदम आक्रमक रुपमा फैलिएकाले अहिले केही भन्न सकिने अवस्था छैन ।’ चीनमा धेरै नेपाली विद्यार्थी छन् । भ्रमण वर्ष २०२० मनाउन चिनियाँ पर्यटकहरु पनि नेपाल भित्रिएका छन् । यसो हुदाँ नेपालमा कोरोना भाइरस संक्रमण हुने डर छ कि छैन् ? जिज्ञासा धेरैलाई छ ।

के हो कोरोना भाइरस ?
चीनमा पत्ता लागेको कोरोना भाइरसलाई श्वाप्रश्वाससम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरस भनिएको छ । २०१९-एन सीओभी भनिएको उक्त भाइरस कोरोना वर्गको नयाँ प्रजाति भएको ठानिएको छ, जुन यसअघि मानिसमा फेला परेको थिएन । सन् २००० को दशकको आरम्भतिर संसारभरी झन्डै ८०० मानिसको ज्यान लिएको सार्स भाइरस पनि एक प्रकारको कोरोनाभाइरस नै थियो । कोरोना भाइरस जनावर र मानिसबीच सर्ने भाइरस हो ।

यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ । जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्ने भनिएको छ । डाक्टर पुन भन्छन्, ‘यो भाइरस डरलाग्दोसँग फैलिएको छ, त्यसैले हामी पनि सतर्क रहनुको विकल्प छैन ।’