सोलुखुम्बुमा तनाव प्रहरीले हवाई फायर गर्‍यो

217
सांकेतिक तस्विर

माघ ४, सोलुखुम्बु । तिङ्लाबासीले राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न कार्यक्रम विथालेको छन् । त्यसक्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ । एक जनालाई गोली लागेको स्थानीयबासीले दावी गरेपनि प्रहरीले पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । यस्तै प्रदर्शनकारीले १२/१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो । तर तिङ्लाबासीले त्यसको विरोध जनाए । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका(११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुङ्गामुडा समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । तिङ्लावासीको विरोधकपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।