पुस २०, काठमाडौं । वरिष्ठ फिल्मकर्मी नीर शाह ‘कामना लाईफटाईम एचिभमेन्ट अवार्ड २०७६’ बाट सम्मानित भएका छन् । शनिबार अबेर साँझ ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘कामना फिल्म अवार्डस् २०७६’ समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो । नगद १ लाख रुपैयाँसहितको सम्मान शाहलाई कामना प्रकाशनका अध्यक्ष एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामना मासिकका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रदान गरे । शाह अभिनेता, निर्माता, निर्देशक तथा गीतकार पनि हुन् । कार्यक्रममा प्राविधिक तर्फको ‘कामना लाईफटाईम एचिभमेन्ट अवार्ड २०७६’ मेकअप आर्टिष्ट सन्तु तामाङलाई प्रदान गरियो ।
तामाङलाई पर्दा पछाडी रहेर पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै नगद १ लाख रुपैयाँ सहितको यो सम्मान दिइएको हो ।
नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ले आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, अभिनेता, अभिनेत्री, निर्देशन र पटकथा समेत गरेर ५ विधामा अवार्ड हात पारेको छ । प्रसादबाट अभिनेतामा बिपिन कार्की, अभिनेत्रीमा नम्रता श्रेष्ठ, निर्देशकमा दिनेश राउत, पटकथा तर्फ सुशिल पौडेलले अवार्ड प्राप्त गरेका थिए । तर अभिनेता बिपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ, निर्देशक दिनेश राउत भने अवार्ड थाप्न आएनन् ।प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको समारोहमा लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जसमा जुरीको ९० र भोटीङको १० प्रतिशत अंक जोडीएको आयोजकले जानकारी दियो ।
‘पुस्करलाल मिडिया अवार्ड’बाट आर। के मानन्धर सम्मानित भएको अवार्ड समारोह गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथमा आयोजना भएको थियो । शनिबार उपत्यकामा देखिएको चिसोको मौसमका बावजूद पनि अवार्ड समरोहमा सहभागी हुन भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ललगायत थुप्रै नयाँ, पुराना, हिट फ्लप कलाकलार पुगेका थिए । अवार्ड समारोहको सुरुवात अभिनेता राजेश हमालले गरेका थिए ।














