पुस २०,
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । १८ जना सदस्यका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन गर्ने गरी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गर्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर पेश गर्नुपर्ने छ । त्यस्तै उम्मेदवारले १० हजार धरौटी बुझाउनु पर्ने छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा भने सो धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगले जनाएको छ ।
राष्ट्रियसभामा नेकपाका ८, काँग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ मा सकिदैछ । कार्यकाल सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ । राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता प्रदेशसभाका सांसद र स्थानीय तह ९गाउँपालिका र नगरपालिकाका ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद हुनेछन् ।
स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार फरकफरक कायम गरिएको छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मत भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ ।