मंसिर २४,
काठमाडौं । राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसद बिदा हुदैं छन् । दुईवर्षे कार्यकाल पूरा भएर घर फर्किनेमा नेकपाका ८ जना, कांग्रेसका सात जना, राजपाका दुई जना र समाजवादीका एकजना सांसद छन् । राष्ट्रपतिबाट मनोनित सदस्य तथा अर्थमन्त्री डा.युवराज खतिवडाको अवधि पनि यही चरणमा सकिनेछ । ५९ सदस्यीय राष्ट्रियसभामा १३ सिट पाएको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा लागेको थियो । १९ जनाले आ–आफ्नो क्लस्टरमा चिठ्ठा तान्दा ७ जना कांग्रेसका सांसद दुईवर्षेमा परेका थिए । राष्ट्रियसभाको निर्वाचन माघको ७ देखि १० गतेभित्र गर्ने तयारी छ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । फागुन २१ गते अहिलेका सांसदको २ वर्षे कार्यकाल पूरा हुँदैछ ।
यसपटक कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ । राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ ।
अब हुने राष्ट्रियसभा निर्वाचन पनि एकल संक्रमणीय प्रणालीबाटै हुनेछ । तर, एउटा क्लस्टरमा एकजना मात्र निर्वाचित गर्नुपर्ने भएकाले प्रदेशसभा र स्थानीय तहमा जसको बहुमत छ, त्यही पार्टीले जित्ने निश्चित छ । यस अघि तीनजना निर्वाचित हुने बेला दुईजना नेकपामा जित्दा एकल संक्रमणीय प्रणालीका कारण कांग्रेसले तेस्रो सिट जितेको थियो । यसपटक प्रत्येक क्लस्टरमा एक सिटको लागि मात्र चुनाव हुँदैछ । त्यसैले ६ वटा प्रदेशमा कांग्रेसले ६ सिट गुमाउने निश्चितजस्तै देखिन्छ ।