‘प्रधानमन्त्रीलाई दुवै मिर्गौला दिन्छु’ भन्दै पत्र लेख्ने व्यक्तिको विगत यस्तो

152
प्रधानमन्त्रीलाई दुबै मिर्गौला दिन्छु भन्दै पत्र लेख्ने कैदी बलबहादुर शाही । तस्बिर शिलापत्र

रमेश रावल/शिलापत्र डटकम
मंसिर २२, सुर्खेत । मिर्गौलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी छ । १२ वर्षअघि भाइबुहारीको मिर्गौला ट्रान्सप्लान्ट गरेका ओलीलाई पुनः ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि उनका नातेदार मिर्गौला दिन तयार छन् । तर, शनिबार एकाएक एक कैदीबन्दीले आफ्ना दुवै मिर्गौला दिन तयार भएको खबर सार्वजनिक भयो ।

प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै कैदीबन्दीले प्रधानमन्त्री ओली देशका लागि बाँच्न आवश्यक रहेको भन्दै आवश्यक परे आफ्ना दुवै मिर्गौला दिन तयार भएको पत्र सार्वजनिक भएको छ । जेलभित्रैबाट यस्तो पत्र लेख्ने कैदी को हुन् त रु सबैको जिज्ञासाको विषय बनेको छ । जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका हेमन्त भनिने बलबहादुर शाहीले उक्त पत्र लेखेका हुन् ।

हत्या आरोपमा अदालतले जन्मकैद सजाय तोकेपछि शाही अहिले कारागारमा सजाय भोगिरहेका छन् । शाहीले मिर्गौला दिने भन्दै लेखेको पत्रप्रति स्थानीयले आफू प्रचारमा आउन गरेको हर्कत भएको टिप्पणी गरेका छन् । महावै गाउँपालिकाका स्थायी बासिन्दा शाही हत्या आरोपमा दोषी प्रमाणित भई सजाय भोगिरहेका छन् । आफू जन्मकैदको सजाय भोगिरहेकाले प्रधानमन्त्रीलाई मिर्गौला दिएर देशका लागि केही योगदान गर्न खोजेको आशय पत्रमार्फत उल्लेख गरेका छन् ।

शाहीले १० वर्षअघि बाँकेका राजु धिताललाई बन्धक बनाएर हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २ फागुन २०६७ मा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा थप शरीर अपहरण र बन्धक मुद्दामा १५ वर्ष कैद तथा २ लाख रुपैयाँ जरिमाना तोक्दै कारागार पठाएको थियो । कालिकोट कारागार कैद भुक्तान गरिरहेकै बेला नै शाही ११ चैत २०७३ मा दिउँसो मान्म बजार घुम्न निस्केका बेला प्रहरीको आँखा छल्दै फरार भएका थिए ।

प्रहरी जवान लक्ष्मीप्रसाद खत्रीसँग घुम्न निस्केका शाही फरार भएको १५ महिनापछि पक्राउ गरिएको थियो । ४ सय ४२ दिनपछि बाँकेको हजल्दारपुरमा उनी पक्राउ परेका हुन् । फरार रहेका बेला शाही जग्गा दलालीमा संलग्न थिए । प्रहरीका अनुसार जग्गा दलालले दिएको सूचनाकै आधारमा जग्गाको मोलमोलाई गरिरहेकै अवस्थामा शाही पक्राउ परेका हुन् ।

त्यसअघि उनी भारतको हिमाल्चल प्रदेश, दिल्ली र मुम्बईमा बस्दै आएका थिए । जग्गा कारोबार गर्न नेपाल आएको २० दिनपछि नै शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी अनुसन्धानबाट उनी नेपाल आर्मीका भगौडा भएको बुझिएको छ । आर्मीको नेसनल डिफेन्स मध्य तथा सुदूरपश्चिम इन्चार्ज बताउने शाही अपराधिक गतिविधिमा संलग्न भएको थाहा पाएपछि कारबाही हुने डरले भागेको बताइएको छ ।

आफू चर्चामा आउन अहिले कारगारभित्रैबाट प्रधानमन्त्रीलाई पत्र लेख्दै मिर्गौला दिने घोषणा गरेको प्रहरीको भनाइ छ । ‘जसले हत्या, अपहरण र दलालीमा दख्खल नै राखेको छ, उसले यो देश र समाजको लागि कसरी भलो सोच्न सक्छ,’ कालिकोटका एक प्रहरी अधिकारीले भने, ‘आफू चर्चामा आउन र सजाय माफ हुन्छ कि भन्ने उद्देश्यले नै उनले यो पत्र लेखेका हुन सक्छन् ।’

मंसिर १४ गते लेखिएको पत्र शनिबार सार्वजनिक भएको थियो ।