Wednesday, October 7, 2026
Home समाचार ‘प्रधानमन्त्रीलाई दुवै मिर्गौला दिन्छु’ भन्दै पत्र लेख्ने व्यक्तिको विगत यस्तो

‘प्रधानमन्त्रीलाई दुवै मिर्गौला दिन्छु’ भन्दै पत्र लेख्ने व्यक्तिको विगत यस्तो

166
प्रधानमन्त्रीलाई दुबै मिर्गौला दिन्छु भन्दै पत्र लेख्ने कैदी बलबहादुर शाही । तस्बिर शिलापत्र

रमेश रावल/शिलापत्र डटकम
मंसिर २२, सुर्खेत । मिर्गौलाले काम गर्न छाडेपछि बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारी छ । १२ वर्षअघि भाइबुहारीको मिर्गौला ट्रान्सप्लान्ट गरेका ओलीलाई पुनः ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि उनका नातेदार मिर्गौला दिन तयार छन् । तर, शनिबार एकाएक एक कैदीबन्दीले आफ्ना दुवै मिर्गौला दिन तयार भएको खबर सार्वजनिक भयो ।

प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै कैदीबन्दीले प्रधानमन्त्री ओली देशका लागि बाँच्न आवश्यक रहेको भन्दै आवश्यक परे आफ्ना दुवै मिर्गौला दिन तयार भएको पत्र सार्वजनिक भएको छ । जेलभित्रैबाट यस्तो पत्र लेख्ने कैदी को हुन् त रु सबैको जिज्ञासाको विषय बनेको छ । जिल्ला कारागार कालिकोटमा कैद भुक्तान गरिरहेका हेमन्त भनिने बलबहादुर शाहीले उक्त पत्र लेखेका हुन् ।

हत्या आरोपमा अदालतले जन्मकैद सजाय तोकेपछि शाही अहिले कारागारमा सजाय भोगिरहेका छन् । शाहीले मिर्गौला दिने भन्दै लेखेको पत्रप्रति स्थानीयले आफू प्रचारमा आउन गरेको हर्कत भएको टिप्पणी गरेका छन् । महावै गाउँपालिकाका स्थायी बासिन्दा शाही हत्या आरोपमा दोषी प्रमाणित भई सजाय भोगिरहेका छन् । आफू जन्मकैदको सजाय भोगिरहेकाले प्रधानमन्त्रीलाई मिर्गौला दिएर देशका लागि केही योगदान गर्न खोजेको आशय पत्रमार्फत उल्लेख गरेका छन् ।

शाहीले १० वर्षअघि बाँकेका राजु धिताललाई बन्धक बनाएर हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले २ फागुन २०६७ मा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा थप शरीर अपहरण र बन्धक मुद्दामा १५ वर्ष कैद तथा २ लाख रुपैयाँ जरिमाना तोक्दै कारागार पठाएको थियो । कालिकोट कारागार कैद भुक्तान गरिरहेकै बेला नै शाही ११ चैत २०७३ मा दिउँसो मान्म बजार घुम्न निस्केका बेला प्रहरीको आँखा छल्दै फरार भएका थिए ।

प्रहरी जवान लक्ष्मीप्रसाद खत्रीसँग घुम्न निस्केका शाही फरार भएको १५ महिनापछि पक्राउ गरिएको थियो । ४ सय ४२ दिनपछि बाँकेको हजल्दारपुरमा उनी पक्राउ परेका हुन् । फरार रहेका बेला शाही जग्गा दलालीमा संलग्न थिए । प्रहरीका अनुसार जग्गा दलालले दिएको सूचनाकै आधारमा जग्गाको मोलमोलाई गरिरहेकै अवस्थामा शाही पक्राउ परेका हुन् ।

त्यसअघि उनी भारतको हिमाल्चल प्रदेश, दिल्ली र मुम्बईमा बस्दै आएका थिए । जग्गा कारोबार गर्न नेपाल आएको २० दिनपछि नै शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी अनुसन्धानबाट उनी नेपाल आर्मीका भगौडा भएको बुझिएको छ । आर्मीको नेसनल डिफेन्स मध्य तथा सुदूरपश्चिम इन्चार्ज बताउने शाही अपराधिक गतिविधिमा संलग्न भएको थाहा पाएपछि कारबाही हुने डरले भागेको बताइएको छ ।

आफू चर्चामा आउन अहिले कारगारभित्रैबाट प्रधानमन्त्रीलाई पत्र लेख्दै मिर्गौला दिने घोषणा गरेको प्रहरीको भनाइ छ । ‘जसले हत्या, अपहरण र दलालीमा दख्खल नै राखेको छ, उसले यो देश र समाजको लागि कसरी भलो सोच्न सक्छ,’ कालिकोटका एक प्रहरी अधिकारीले भने, ‘आफू चर्चामा आउन र सजाय माफ हुन्छ कि भन्ने उद्देश्यले नै उनले यो पत्र लेखेका हुन सक्छन् ।’

मंसिर १४ गते लेखिएको पत्र शनिबार सार्वजनिक भएको थियो ।