मंसिर ४,
काठमाडौं । करिब एक वर्ष अगाडीदेखि मन्त्रिमण्डल पुनर्गठन हुन्छ भन्दै हल्ला चलेको थियो । तर उक्त हल्लाले अझै वास्तविकता पाउन सकिरहेको देखिदैंन । आज हुने भनेको मन्त्रिमण्डल पुनर्गठन पनि भोलीलाई सरेको छ । नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो। प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन तयारी गरेका थिए। तर दुवै अध्यक्ष बुधबार साँझ याक एण्ड यति होटेलमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जाने भएपछि मन्त्रिपरिषद् पुनर्गठन भोलिसम्मका लागि सरेको हो। ओलीले मन्त्रिपरिषद् पुनर्गठनका लागि अध्यक्ष दाहालसँग पटक पटक छलफल गरेका थिए।
आजै बसेको सचिवालय बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो। नेकपामा महासचिव विष्णु पौडेलले हेरफेर हुने मन्त्रीहरुको सुची तयार भइसकेको जनाउँदै अब दुवै अध्यक्षले त्यसलाई अन्तिम रुप दिने जानकारी दिए। मन्त्रिपरिषद् हेरफेर हुने भएपछि बुधबार अधिकांश मन्त्रीहरु मन्त्रालय गएनन्। श्रम मन्त्री गोकर्ण विस्टसहितका केही मन्त्री मात्रै मन्त्रालयमा गएका थिए। पाँचदेखि १० जना मन्त्री हेरफेरको तयारी भएको छ। तर बाहिरिने र भित्रिने मन्त्रीहरुको सूची अध्यक्षद्वयसँग मात्रै रहेको स्रोतको भनाई छ । त्यसैलेपनि कतिपय मन्त्रीहरुको आजको रात अनिदो नै बित्ने भएको छ ।













