पदयात्री उद्धारमा ड्रोन

137

कान्तिपुर दैनिक
कार्तिक १५, पोखरा — साथीसँग पदयात्रामा मार्दी हिमाल गएकी काठमाडौंकी विपना उप्रेती २०७४ माघ २५ मा हराइन् । समूहभन्दा पछि परेकी उनी देउरालीनजिकै हिउँमा चिप्लिएर खोंचमा खसेको आशंका गरियो । मणिपाल शिक्षण अस्पतालमा एमबीबीएस तेस्रो वर्ष अध्ययन गरिरहेकी २१ वर्षीया उप्रेतीको अहिलेसम्म पत्तो छैन । त्यही वर्ष चैतमा डच नागरिक कोर्री भेन भेग्गेल अन्नपूर्ण क्षेत्रबाट हराइन् । मार्दी हिमालको हाइक्याम्पबाट सिदिङ झर्ने छोटो बाटो फर्किंदा बीचैबाट बेपत्ता भएकी उनी पनि भेटिएकी छैनन् । यस्ता यात्रीको उद्धार र खोजीका लागि अब ड्रोन प्रयोग गरिने भएको छ । ट्र्याकिङ डिभाइस, ड्रोन, रेडियोसेटलगायत सामग्रीमार्फत हिमाली क्षेत्रमा फसेकाको उद्धार गर्ने प्रविधि नेपाल भित्रिएको हो । कोरियाली टेलिकम, उम होङ गिल ह्युमन फाउन्डेसन र नेपाल पर्वतारोहण संघले ४ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकास्थित माछापुच्छ्रे आधार शिविरमा अन्नपूर्ण उद्धार केन्द्र स्थापना गरेका छन्, जसले बिहीबार उद्धार ड्रोनको परीक्षण उडान गर्‍यो ।

पदयात्रीले केन्द्रबाट जीपीएस जडित ट्र्याकिङ डिभाइस लिन सक्छन् । यसैको सहयोगमा पदयात्री पुगेको स्थान गुगल म्यापमार्फत कम्प्युटरबाट अनुगमन गर्न मिल्छ । पदयात्री घाइते भए वा उद्धार आवश्यक परे डिभाइसमा रहेको बटन थिच्नेबित्तिकै केन्द्रमा जानकारी पुग्छ । ड्रोन अपरेटर विष्णु कल्पितका अनुसार ड्रोन औषधोपचार, खानेकुरालगायत १० किलो बराबरका सामग्री बोकेर घाइतेसम्म पुग्न सक्छ । पदयात्री अचेत भए खोज्न इन्फ्रारेड क्यामेरा जडित ड्रोन प्रयोग हुन्छ । उक्त ड्रोनले रगतको ताप सेन्सरमार्फत परीक्षण गरेर जिउँदो भएरनभएको थाहा पाउँछ । त्यस क्रममा ड्रोनले खिचेको तस्बिर सिधै उद्धार केन्द्रमा राखिएको कम्प्युटरमा जान्छ ।