अन्नपूर्ण पोष्ट
कार्तिक ११, धन (मूलतः पैसा) की देवी लक्ष्मी पुजिने पर्व तिहारको तयारीमा काठमाडौँको असन बजार सजिइसकेको छ। मसला, फूलमाला, मिठाईका पसल भरिभराउ भइसकेका छन्। विगत पाँच वर्षदेखि असनमा भारी बोक्ने काम गर्छन्, मकवानपुर, फापरबारीका चन्द्रमान वाइबा। सोमबार दिउसो उनी काँधमा नाम्लो भिरेर असनचोकको एउटा पसलको सिँढीमा बसिरहेका थिए। उनलाई सोधियो– ‘तपाईंलाई कति भए पुग्छ पैसाले?’ ‘मलाई त अहिले १ सय ६० रुपैयाँ भए पुग्छ,’ उनले भने, ‘भात खाएको छैन। कसैले १ सय ६० रुपैयाँ दिए कुखुराको मासु र भात खान्थेँ। हामी गरिबलाई भन्दा यस्तो प्रश्न त धनीलाई सोध्नुपर्छ। गरिबलाई त अलिकति पैसा भए पुगिहाल्छ नि। धनीलाई पो जति भए पनि पुग्दैन।’
देशकै सम्पन्न व्यावसायिक प्रतिष्ठान गोल्छा अर्गनाइजेसनका कार्यकारी निर्देशक शेखर गोल्छालाई पनि सोधियो, उही प्रश्न– ‘तपाईंलाई कति भए पुग्छ पैसालेरु’ उनले ठ्याक्कै यतिउति भन्ने जवाफ दिएनन्। तर, धेरै पैसा भएको दिन आफूलाई रातभरि निन्द्रा नलाग्ने बताए। ‘मलाई धेरै पैसा भएपछि रातभरि निन्द्रा लाग्दैन,’ गोल्छाले भने, ‘पैसाले संसारको सबैभन्दा महँगो बिछ्यौना किन्न सकिएला, तर मिठो निन्द्रा किन्न नसकिने रहेछ।’ उनले पैसाको सामथ्र्यको पनि सीमा हुने बताए। ‘अन्नपूर्ण सम्पूर्ण’ले तिहार नजिकिँदै गर्दा धनाढ्य व्यवसायी/उद्योगपतिदेखि मजदुरसम्मलाई एउटै प्रश्न गरेको थियो– ‘मान्छेलाई कति भए पुग्छ पैसाले?’
स्वाभाविक रूपमा सबैका जवाफ भिन्न–भिन्न थिए।
ज्याला मजदुरी गर्नेहरू हजारको चाहना राख्छन्। जागिरेहरू लाखको सपना देख्छन्। व्यापारी र उद्यमीहरूसँग करोडभन्दा मुनिको चाहना र योजना हुँदैन। ‘कति पैसा भए मानिस खुशी हुन्छरु’ भन्ने कुरा अहिलेसम्म पत्ता लाग्न नसकिएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन्। ‘‘मानिसलाई कति पैसा भए पुग्छ’ भन्ने कुरा कसैले पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ उनी भन्छन्, ‘पैसा मानिसलाई यति नै चाहिन्छ भन्ने छैन। तर, आवश्यकताभन्दा बढी पैसा थुपार्दा मानिसलाई थप तनाव र बोझ हुन्छ।’
इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) का अध्यक्ष दीपक मलहोत्रालाई पनि यति नै पैसाले पुग्छ भन्ने लाग्दैन। ‘पैसा जति कमायो उति कमाइरहने इच्छा हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले हामी व्यवसायीले कमाएको पैसा कहिले पनि बैँकमा जम्मा गर्दैनाँै। एक ठाउँबाट गरेको आम्दानी अर्को क्षेत्रमा लगानी गर्छौं।’ नवनिर्वाचित एनआरएनए अध्यक्ष कुमार पन्त आज आफूसँग भएको पैसा भोलि आफूसँग हुन नसक्ने बताउँछन्। ‘आजको दिनमा मानिसलाई पाइला–पाइलामा पैसा चाहिन्छ,’ उनी भन्छन्, ‘तर, पैसा मात्रै सबथोक भने होइन। पैसा आज छ, भोलि नहुन पनि सक्छ। पैसाले सबै थोक किन्न सकिएला, तर खुशी किन्न सकिँदैन।’
‘पैसाले कहिल्यै पुग्दैन’
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार सेयर बजारमा प्रवेश गर्नुअघि गार्मेन्ट उद्योगमा सक्रिय थिए। ३५ वर्षसम्म दैनिक १२ देखि १४ घण्टासम्म उनी काममा बिताउँथे। ‘मसँगै मेरी श्रीमती पनि काममा एकदमै व्यस्त थिइन्,’ उनी सम्झन्छन्, ‘हामी दुई यति व्यस्त हुन्थ्यौँ कि जीवन के हो भन्ने भुलिसकेका थियौँ।’ व्यापारिक मन्दीका कारण रौनियारको गार्मेन्ट उद्योग बन्द भयो। त्यसपछि उनले सेयर बजारमा प्रवेश गरे। सेयर बजारमा उनले १० वर्ष बिताइसके। ‘विगत दुई वर्षदेखि बिस्तारै कामको चाप घटाउँदै लगिरहेको छु,’ उनी भन्छन्, ‘अहिले म भौतिकभन्दा प्राकृतिक र पारिवारिक जीवनमा धेरै ध्यान दिइरहेको छु। ६१ वर्षको उमेरमा आएर स्तरीय जीवन बिताउँदै छु भन्ने लाग्दै छ।’ एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ भन्ने लाग्छ उनलाई। ‘एक दिन सबैले भौतिक जीवन छाड्नुपर्छ,’ उनी भन्छन्, ‘भौतिक जीवन छाडेर असल जीवन बाँच्नुपर्छ।’ पैसाको सही प्रयोग गर्न नजानेर धेरैको घरपरिवार तहसनहस भएको उनले देखेका छन्। ‘मानिस हरेक दिन पैसा कमाउन दौडिरहेका छन्,’ उनी भन्छन्, ‘पैसा कमाउने धुनमा आफ्नो जीवन बाँच्न भुल्छन्।’