तिहारमा कुलमानको आग्रह यस्तो छ

176
नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ

नागरिक दैनिक
कार्तिक १०, काठमाडौं । तीन वर्ष पहिले बत्तीको पर्वको रूपमा रहेको तिहारमा सहजरूपमा विद्युत उपलब्ध गराउने कुरा कल्पना बाहिरको विषय थियो। नेपाली मान्यताअनुसार लक्ष्मीले उज्यालो मन पराउँछिन् तर बत्तीको जोहो गर्ने नेपाल विद्युत प्राधिकरणलाई भने कसरी विद्युत व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँथ्यो। घरायसी उपभोक्ताले साँझको समयमा समेत बत्ती बाल्न नपाएर निराश हुन्थे। उनीहरु सरकार र प्राधिकरणलाई गाली गरेर अँध्यारोमा लक्ष्मीको आराधना गरेर बस्थे।

समय बदलियो, नेतृत्व बदलियो, नीति र कार्यक्रमसमेत बदलियो। विसं २०७३ को लक्ष्मीपूजाको दिनदेखि नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणा गरियो। तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफैँ कार्यस्थलमा खटेर लक्ष्मीपूजालाई वास्तवमै उज्यालो बनाएका थिए। मुलुकबाट नै विद्युतभार कटौतीको अन्त्य भएको घोषणासँगै प्राधिकरणमाथि अर्को आरोप पनि लाग्यो, भारतबाट महङ्गोमा किनेर ल्याएको विद्युतबाट अँध्यारो हटाइयो। आलोचकले त विभिन्न बहाना निकालेर सरकार र प्राधिकरणको आलोचनामा नै समय खर्चिए।

प्राधिकरणलाई भारतबाट विद्युत आयात गर्नु बाध्यताजस्तै थियो। आन्तरिक रूपमा पुग्दो विद्युत नभएका कारण पनि भारतको भर पर्नु परिस्थितिको उपज नै थियो। प्राधिकरणले अनेकन प्रयास गरेर सहजरूपमा उपभोक्तालाई विद्युत उपलब्ध गराएकै थियो। अघिल्लो दुई वर्षमा प्राधिकरणले अनेकन उपाय लगाएर भए पनि उपभोक्तालाई विद्युत उपलब्ध गरायो। यस पटक भने प्राधिकरणले आन्तरिक उत्पादन नै प्रयोग गरेर यस पटकको लक्ष्मीपूजाको दिन देशभर नै उज्यालो बनाउने भएको छ।

विगतमा भारतको भर परेर मात्रै उज्यालो बनाएको प्राधिकरणमाथि लागेको आरोप यस पटकदेखि भने हट्नेछ। ुकसरी व्यवस्थापन भयो त आन्तरिकरूपमा नै सहज विद्युत हुने अवस्था रु भन्ने प्रश्नमा प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, ुप्राधिकरण र निजी क्षेत्रका सबै आयोजना पूर्ण क्षमतामा चल्ने भएकाले भारतबाट विद्युत नगन्य मात्रामा मात्रै विद्युत आयात हुन्छ। प्राधिकरणले आफ्ना आयोजनाबाट कूल नौ हजार १३५ मेगावाट घण्टा विद्युत उपलब्ध गराइरहेको छ। निजी क्षेत्रका आयोजनाबाट कूल १० हजार २१६ मेगावाट घण्टा विद्युत उपलब्ध भइरहेको छ। भारतबाट एक हजार ८२९ मेगावाट घण्टा विद्युत आयात भइरहेको छ।