ट्याटु मोह

468

कार्तिक ६,
सहरी क्षेत्रमा ट्याटु बनाउने फेसन नै चलेको छ । पहिले प्रेम, धार्मिक आस्था तथा आफ्नो बलियोपन देखाउन ट्याटु खोपाइन्थ्यो । हिटलरको शासनकालमा यहुदीहरूको पहिचानका लागि अंकको ट्याटु बनाउने चलन थियो । अहिले मानिसहरूले कला, सुन्दरता, धार्मिकता, प्रेमजस्ता भावना, रुचि आदि दर्साउन ट्याटु खोपाउने गरेका छन् । नेपालमै पनि नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटु खोप्नुलाई संस्कृतिकै रूपमा लिइएको पाइन्छ । यी जातिले सियोको सहायताले शरीरका विभिन्न अंगमा ट्याटु खोप्ने चलन धेरै पुरानो हो । नेवार समुदायमा महिलाको खुट्टामा खोपिएको ट्याटुले शक्तिको संकेत गर्ने विश्वास छ । सानै उमेरमा ट्याटु खोप्दा रोग, दुस्ख तथा शत्रुले आक्रमण गर्न नसक्ने परम्परागत मान्यता छ । थारू समुदायमा भने विवाहित महिलाले मात्र ट्याटु खोप्छन् । उनीहरू शरीरमा फूल, कोठी, घाम, जूनका साथै आफ्नो तथा श्रीमान्को नाम खोपाउँछन् । आफ्नो विवाहित जोडी मयूरको जोडीजस्तै होस् भनेर प्रेमपूर्वक चुच्चो जोडिएको मयूरको चित्र थारू महिलाले आफ्नो गोडामा खोपाउने चलन पनि पुरानै हो ।

संस्कृतिविद् ज्ञानकाजी श्रेष्ठ भन्छन्— संस्कारसँग जोडिएको प्रतीकात्मक चिह्न शरीरमा खोपाउने चलन धेरै पुरानो हो । श्रेष्ठका अनुसार कसैको आँखा नलागोस् भनेर कालो रङ प्रयोग गरिन्छ । चिउँडोमा कालो ट्याटु बनाउँदा राम्री देखिनुका साथै नराम्रो नजरबाट जोगिन सकिन्छ भन्ने धारणा थारू महिलामा रहेको श्रेष्ठ बताउँछन् । विगतको तुलनामा अहिले ट्याटु बनाउने रुचिमा धेरै परिवर्तन आएको कुमारीपाटीस्थित संकेत ट्याटु हाउसका सविन बगालेले बताए । सविनका अनुसार इन्टरनेट र प्रविधिका कारण अहिले ग्राहकहरू गुगलमा सर्च गरेर आफूलाई मनपर्ने ट्याटुको डिजाइन लिएर आउँछन् । बगाले भन्छन्– अचेलका युवा भगवान् शिवको चित्र छातीमा खोपाउन रुचाउँछन् ।

कतिपयले भने आमाको आकृति छाती र हातमा खोप्ने गरेका छन् । युवाहरूको ट्याटुमा आमा र ड्याडी शब्द निकै लोकप्रिय छ भने विवाहितहरूमा भने आफ्नो सन्तानको नाम खोपाउने लहर नै छ । कतिले आफ्नो जीवनको महत्वपूर्ण मिति अरु भाषामा खोपाउँछन् । अहिले सम्झनाका लागि मात्र नभै सुन्दरताका लागि ट्याटु खोप्नेहरू पनि बढ्दो छन् । पहिले केटीहरू सुन्दरताका लागि पुतली, चराको प्वाँख, फुल, नाम आदिका स–साना ट्याटु खोपाउँथे तर, अहिले महिलाहरू बिस्तारै बोल्ड हुँदै गएका छन् । परिणामस्वरूप उनीहरूको टाटुमा समेत बोल्ड आकृति तथा सिम्बोलहरू देखिन थालेको छ ।

ट्याटु खोप्नेमा सर्वसाधारण मात्र छैनन्, यसका पारखी सेलीबेटीहरूको संख्या पनि बाक्लै छ । बलिउड नायक अक्षयकुमारदेखि रणवीर कपुरसम्म, नायिका दीपिका पादुकोणदेखि प्रियंका चोपडासम्ममा ट्याटुमोह देखिन्छ । त्यसो त नेपालकै नायक तथा नायिकाहरूसमेत यो मामिलामा पछाडि छैनन् । नेपाली नायिकाहरूमा पनि गज्जबको ट्याटुमोह छ । उनीहरूले आफ्नो शरीरको विभिन्न अङ्गमा ट्याटु खोपाउँदै आएका छन् । आफूलाई निकै बोल्ड महिलाका रुपमा प्रस्तुत गर्दै आएकी स्मीता थापादेखि नायिकाहरू करिश्मा मानन्धर, सुष्मा कार्की, प्रियंका कार्की, वर्षा शिवाकोटी, साम्राज्ञीराज्य लक्ष्मी शाह, सिर्जना सुब्बासम्म तथा नायक राजेश हमाल, सौगात मल्ल, आर्यन सिग्देल, आयुष्मान देशराजदेखि अनमोल केसीसम्मले आफ्नो शरीरमा ट्याटु खोपाएका छन् । -साप्ताहीकबाट साभार