लेकाली गाउँ अर्मनमा टर्की पालन फस्टाउँदै

131

कात्तिक २,
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका वडा नं ५ अर्मनमा परीक्षणका रुपमा गरिएको टर्की पालन सफल भएको छ। शिशुकल्याण मावि अर्मनका शिक्षक घनश्याम सुवेदीले परीक्षणका रुपमा एक वर्ष अघि दुई भाले र दुई पोथी चल्लाबाट शुरु गरेको टर्की पालन सफल भएपछि गत असारमा ६० ओटा चल्ला ल्याएर पाल्न थालेका हुन्। पेशाले शिक्षक सुवेदीले विद्यालय समय बाहेकको अन्य समयमा टर्कीको रेखदेखमा खर्चिने गरेका छन्। केही न केही नयाँ काम गर्ने स्वभावका सुवेदीले गाउँमा यस भन्दा अघि कसैले पनि नपालेको टर्की पाल्दा गाउँलेहरुले अचम्म मानेका बताए। कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने थाहा पाएपछि सुवेदी टर्की पालनतर्फ व्यवसायतर्फ लागेका हुन्। ‘मैले विशेषगरी अण्डाका लागि टर्की पालन गरेको हुँ, अण्डाको राम्रो मूल्य पाइन्छ, सुवेदीले भने। उनका अनुसार अण्डा पोखरामा प्रतिगोटा रु दुई सयका दरमा विक्रि हुन्छ। गाउँमा पहिलो पटक टर्की पालन गर्दा केही असजिलो महशुस भएपनि अहिले भने कुनै समस्या नरहेको उनले बताए। असारमा ल्याएका टर्कीका चल्ला अहिले ५ किलो सम्मका भएका छन्। अण्डा र मासुका लागि टर्की बेचेर सुवेदीले वार्षिक एक लाख भन्दा बढी कमाइ हुने बताए। सुवेदीको देखासिकीमा अहिले अर्मनका ५ जना तथा छिमेकी गाउँका कृषकहरुले समेत टर्की पालन शुरु गरेका छन्।