Saturday, September 26, 2026
Home कृषि किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति

किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति

112

असोज २८,
उदयपुर : किसानले रोपेका अदुवामा गाना कुहिने रोग लागेपछि करोडौं रुपैयाँको क्षति भएको छ। अदुवाको फल लाग्ने बेलामा एका एका देखा परेको गाना कुहिने रोगले ठूलो परिमाणमा क्षति भएको हो। कटारी नगरपालिका–११ गोठडाँडाँका ज्ञानबहादुर बस्नेत गाँउघरका रोपिको अदुवाको गाना कुहिएको बताउँछन। ‘यस भेगमा लगाइएको अदुवामा पाँच प्रतिशत बच्ने छ,’ उनले भने, ‘गाना कुहिने रोगले किसानले रोपेको बिउको लगानी समेत नउठ्ने भएको छ।’ उदयपुरमा करिब ३०० हेक्टर जग्गामा अदुवा खेती हुँदै आएको छ। अदुवामा लागेको गाना कुहिने रोगले किसान मारमा परेका छन्। जिल्लामा वार्षिक रुपमा चार हजार मेट्रिक टन अदुवा उत्पदान हुँदै आएको छ। त्यही अदुवाको फल नलाग्दै गाना कुहिने रोगले अहिले सखाप भएपछि किसान चिन्तामा परेका छन्। अदुवाको गाना कुहिने रोगका कारण बिक्रीमा पनि समस्या भएको छ। ‘गाना कुहिने रोग देखेपछि व्यापारीले समेत राम्रो मूल्य दिँदैनन्,’ बस्नेतले भने, ‘बैशाख जेठ महिनामा रोपेको अदुवाको गाना लाग्ने समय भने भदौ असोज हो, त्यही महिना अदुवामा गाना कुहिने रोग देखा प¥यो।’ कटारी नगरपालिकाको हर्देनी, मयाँखु, गोठडाँडालगायतका क्षेत्रबाट वार्षिक रुपमा झण्डै तीन करोड रुपैयाँको अदुवा बिक्री हुँदै आएको कटारी नगरपालिका–११ गोठडाँडाका स्थानीय किसान राजन राउतले बताए। ‘यहाँ बाँदरको समस्याले कुनै पनि खेती हुँदैन, अदुवाको मात्र खेती हुन्छ,’ उनले भने, ‘त्यही अदुवा कुहिँदा किसान मारमा परेका छन्।’ गाना कुहिने रोग देखा परेपछि कटारी नगरपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रसम्म पुग्दा पनि रोगको उपचार गर्ने विधि नपाएको किसानको गुनासो छ। अदुवा बेचेरै छोराछोरीको पढाई खर्च, नुनतेलादेखि घरयासी समस्याको टार्ने कृषक मर्कामा परेका छन्। आगामी दिनमा पनि कृषि शाखा तथा कृषि ज्ञान केन्द्रले उपचारको विधि पत्ता नलगाए अदुवा खेती मासिने स्थानीय शंकर राउत बताउँछन्। ‘नगरपालिकाको कृषि शाखाको बेवास्ता र कृषि ज्ञान केन्द्रको लापरवाहीले गर्दा अदुवाको गाना कुहिने मारमा किसान परेका छन्,’ उनले भने, ‘समयमै रोगको उपचार नगर्ने हो भने आउने वर्षहरुमा पनि अदुवा खेती लोप हुने देखिन्छ।’ मसलाको रुपमा प्रयोग हुने अदुवा उदयपुरको कटारी नगरपालिकाको हर्देनी, मयाखु, लेखानी, सोरुङ, लिम्पाटार, सिरिसेलगायत विभिन्न क्षेत्रमा खेती हुँदै आएको छ। कटारी नगरपालिकाको ११ नम्वर वडामा मात्र गत वर्ष झण्डै तीन करोड रुपैयाँको अदुवा बिक्री भएको सरकारी तथ्याङ्क छ। व्यावसायिक रुपमा अदुवा खेतीमा लागेका किसानलाई अदुवाको गाना कुहिने रोगले झनै समस्या थपेको कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाथोकी बताउँछन।