Tuesday, September 29, 2026
Home समाचार चिनियाँ राष्ट्रपति सी हिड्ने बाटो अवलोकन गर्दै प्रधानमन्त्री

चिनियाँ राष्ट्रपति सी हिड्ने बाटो अवलोकन गर्दै प्रधानमन्त्री

88
फाइल तस्बिर

असोज २५,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आउँदै छन्। सीको भ्रमणका लागि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ। भव्य स्वागतको तयारी गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा सी हिड्ने बाटोको अवलोकन तथा सुरक्षा व्यवस्था बारे जानकारी लिन स्वयं बाटोमा निस्किन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

सी हिड्ने बाटो चिटिक्क पारेर सिंगारिको छ। सडकका खम्बाहरूमा सी र राष्ट्रपति विद्यादेवी भण्डारीका फोटाहरू टाँगिएका छन्। सीको रूटमा पर्ने सबै बाटो मर्मत गरेर चिल्लो बनाइएको छ भने पुलहरू रंगाएर चिटिक्क पारिएको छ। साथै हरियाली देखाउने अस्थायी रूपमा बिरूवाहरू रोपिएको र गमलाहरू सजाइएको छ। सडकमा सुरक्षा तैथानी पनि बाक्लो बनाइएको छ । सीको सवारीका क्रममा पहिलो घेरामा चिनियाँ सुरक्षाकर्मी नै हुनेछन् । सी चढ्ने गाडीसमेत गत मंगलबार चीनबाट ल्याइसकिएको छ ।

सी विमानस्थलदेखि तिनकुने, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी हुँदै उनी सोल्टी होटेल पुग्नेछन् । त्यहाँबाट राष्ट्रपतिनिवास शीतलनिवास जाने कार्यतालिका छ।

अपराह्न करिब ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने सी करिब ९० जना प्रतिनिधिमण्डलसहित आउँदै छन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सांसद तथा उच्चपदस्थ कर्मचारीले स्वागत गर्ने कार्यक्रम छ।