अमेरिकाभरि दूतैदूत

73

कान्तिपुर दैनिक
असोज १७, मेरिल्यान्ड — अमेरिकाको बाल्टिमोरवासी गायक प्रेमराजा महत ८ वर्षयता अवैतनिक महावाणिज्यदूतको हैसियतमा स्थानीय क्षेत्रमा सेवाप्रदायक बनिरहेका छन् । त्यहाँ आफ्नै रेस्टुराँ ‘नेपाल हाउसु सञ्चालन गरिरहेका उनले सन् २०२० को नेपाल भ्रमण वर्षलाई केन्द्रित गरी सूचना प्रचारप्रसार, समन्वय र सांस्कृतिक तहमा नेपाल प्रवर्द्धनका काम पनि गरिरहेका छन् ।

‘आफ्नै तहमा जे–जति सकिन्छ, नेपाल चिनारीको काम अघि बढाइरहेको छुु, उनले भने, ‘यो अभियानमा कुनै प्रकारको आर्थिक वा अन्य सहयोग सरकारबाट लिएको छैन ।ु विशुद्ध लोकगायकको आमचिनारी भए पनि महत आफूलाई राजदूतसरह परिचय गराइरहेका हुन्छन् ।

बाल्टिमोरमै बस्ने अर्का व्यवसायी ज्ञानप्रसाद रिमाल पनि मेरिल्यान्ड राज्यका लागि नेपाल सरकारको पर्यटनदूतको चिनारीमा यताउता गरिरहेका भेटिन्छन् । आफ्नो दुईवर्षे पदावधि आगामी जनवरी २३ मा पूरा हुने उनले जानकारी दिए । ‘मलाई राजनीतिक कार्यकर्ता भएका आधारमा नियुक्ति दिइएको होइन,ु रिमालले कान्तिपुरसँग भने, ‘अरू धेरैजसो भने राजनीतिक आस्थाका आधारमा दूत बनेका हुन् ।ु

नेपाल पर्यटन बोर्डले बाँड्ने दूत पदको प्रावधानमा ‘पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष काम गरेको हुनुपर्ने, नेपाली भएर अमेरिकी नागरिक हुनुपर्ने र राजदूत वा महावाणिज्यदूतबाट सिफारिस गरिएको हुनुपर्नेु जस्ता सर्त
राखिएका छन् । ‘तर को, किन र कसरी दूत बनेको हो, थाहा भएन । दूतहरू को, कति, कहाँ छन् भन्ने थाहा छैन । साझा नेटवर्क पनि छैन,ु रेस्टुराँ व्यवसायी रिमाल भन्छन् । प्रभा देउजा पनि आफू बाल्टिमोरका लागि नेपाली महिला दूत रहेको दाबी गर्छिन् ।

अर्को राज्य सिकागोका लागि अर्घाखाँची मूल घर भएका बाला घिमिरे पर्यटनदूत छन् । उनी तत्कालीन एमालेको अमेरिकास्थित भ्रातृ संगठन प्रवासी मञ्चमा सक्रिय थिए । रेस्टुराँ व्यवसायी घिमिरे नेपालबाट आउने नेता एवं उच्चपदस्थका लागि आतिथ्य सत्कार गर्ने प्रमुख पात्र हुन् । गतसाता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन न्युयोर्क जाँदा ब्रेन गेन सेन्टरको अभियानमा सिकागो बोलाएर अन्तर्क्रिया गराउने उनै थिए । ‘पर्यटनदूतका रूपमा मेरो कार्यकाल सकिएको छ, तैपनि अतिथिको आतिथ्य र अरू गतिविधि गर्नमा व्यस्त छु,ु घिमिरेले भने ।

एटलान्टाका खुद्रा व्यवसायी राजा घले पनि आफूलाई पर्यटनदूत दाबी गर्छन् । नेपालबाट आउने ठूलाठालु अतिथिलाई सत्कार गर्न र फेसबुक प्रचारमा उनी बढी चिनिएका छन् । लस भेगासमा बस्दै आएका किरण शर्मा र क्यालिफोर्निया, सानफ्रान्सिस्को बस्ने घन दवाडी पनि आफूलाई दूत भन्न रुचाउँछन् । विगतमा कट्टर एमाले कार्यकर्ता रहेका गोरखाका दवाडी नेपालमा केही समय पर्यटन व्यवसायमा थिए । क्यालिफोर्नियामै अर्का दूत रामेश्वर भण्डारी पनि उसैगरी चिनिएका छन् । तर नेपालबारेको पर्यटन गतिविधि त्यति हुने गरेको छैन ।