गएको दशैंको तलब यस साल, यसपटकको अर्को साल

72

नेपाल समाचारपत्र
असोज १६,
ललितपुर। साझा प्रकाशनका कर्मचारीले यो वर्षको दशैंको पेस्की अर्को वर्षको दशैंमा पाउने भएका छन्। विगत एक वर्षदेखि रोकिएको तलब बल्ल हात परेपछि मख्ख परेका कर्मचारीले गएको दशैं पेस्कीसहित एक वर्षको तलब हात पारेका हुन्। ‘एक चिहान’ र ‘सबैको नेपाली’ तथा ‘लिङ्क अग्रेजी’ गरी तीन पुस्तकको बिक्रीबाट प्राप्त करिब ४ करोड रुपियाँले एक वर्षको तलब खुवाइएको हो।

साझाका लेखा विभाग प्रमुख होम भट्टराईले आर्थिक वर्ष २०७४ फागुनदेखि २०७५ कात्तिकसम्मको तलब बल्ल लिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘टाट पल्टिन लागेको संस्थालाई बल्लतल्ल आफ्नै कमाइले पुस्तक छपाइ गरेर तलब वितरण गरेका हौं।’ उहाँले विसं ०७३ साउनदेखि २०७५ आसारसम्मको सञ्चयकोष जम्मा गर्न सफल भएको, यस वर्षको रकमको ठेगान नभएको, दशैं खर्च झन् टाढाको विषय भएको विवरण दिनुभयो।

‘अहिलेकै रफ्तारमा काम गरे अबको तीन वर्षभित्र सबै कर्मचारीको तलब खुवाउन सकिन्छ।’ –उहाँले भन्नुभयो। साझामा अहिले १ करोड ८० लाख रुपियाँ तलबमा खर्चिएको छ। साझामा हाल ६८ स्थायीसहित ७४ कर्मचारी कार्यरत छन्। तत्कालीन साझाका महाप्रबन्धक डोलेन्द्र शर्मालाई दुई वर्षअघि एक चिहान पुस्तक ४ हजार ७ सय मात्र छपाइ गरेको रेकर्ड जनाएर आर्थिक हिनामिना गरेको आरोप लागेको थियो। साझाले गत वर्ष सो पुस्तक ५० हजार थान छपाइ गरेको जनाएको छ। त्यस्तै ४८ हजार छपाइ भएको उल्लेख गरेको सबैको नेपाली गत वर्ष १ लाख ५० हजार छपाइ गरेको थियो।