एजेन्सी, असोज १३,
लन्डन । हृदयघात भएको लक्षण थाहा नपाउँदा पुरुषको तुलना महिलाको मृत्यु बढी हुने एक अध्ययनले देखाएको छ। बेलायतस्थित ब्रिटिस हर्ट फाउन्डेसनले गरेको अध्ययन अनुसार हृदयघात भएको लक्षण पहिचान र उचित हेरचाहको अभावमा महिलाले अधिक ज्यान गुमाउने गरेको पाइएको छ। फाउन्डेसनको अध्ययनमा पछिल्लो १० वर्षमा इंग्ल्यान्ड र वेल्सका करिब ८ हजार बढी महिलाले हृदयघात भएपछि यसका लक्षणको पहिचान र हेरचाहको अभावमा ज्यान गुमाएका जनाइएको छ।
चिकित्सकका अनुसार पुरुषहरुको तुलनामा रोगको निदान, उपचार र हेरचाहमा महिलालाई गरिने भेदभावले यस्तो अवस्था निम्त्याएको हो। फाउन्डेसनको प्रतिवेदन भन्छ, ‘यस्तो पूर्वाग्रहले महिलाहरुमा रोगसँग लड्ने र निको हुने सम्भावना न्यून हुँदै जाने जोखिम बढेको छ।’ सो अध्ययनले हृदयघात तथा अन्य मुटुसम्बन्धी रोगले पुरुषलाई मात्र असर गर्छ भन्ने सोचाइले समेत महिला जोखिममा परेको देखाएको छ। ‘महिलाहरुमा हृदयघात तथा मुटु रोगहरुले आक्रमण गर्दैन भन्ने अज्ञानताले चिकित्सकीय सहायता लिन ढिलो भयो। जसको कारण उनीहरुले ज्यान गुमाए,’ प्रतिवेदनमा भनिएको छ।
महिला र पुरुषमा हृदयघात भएको साझा लक्षण छाती दुख्नु भए पनि व्यक्तिअनुसार अन्य लक्षण फरक हुनसक्ने फाउन्डेसनको भनाइ छ। तर, जनमानसमा भने पुरुष र महिलाले हृदयघातका समान लक्षण पूर्णरुपमा अनुभव गर्छन् भन्ने गलत धारणा पाइएको अध्ययनले देखाएको छ। ‘निकै कम उमेरका महिलाहरुलाई पनि हृदयघात हुनसक्ने भएकाले यो विषयलाई अझ गम्भीरताका साथ लिनुपर्छ,’ प्रतिवेदनमा सुझाइएको छ। ब्रिटिस हार्ट फाउन्डेसनका सहयोगी मेडिकल निर्देशक डा सोन्या बाबु नारायण भन्छन्, ‘महिलाले पुरुषको जस्तो हेरचाह र उपचार पाउँदैनन्। जसका कारण ज्यान गुमाउँछन्। किनभने हृदयघातलाई पुरुषको रोगको रुपमा लिइन्छ।’
उनका अनुसार अध्ययनले महिलाहरुले उपचारका क्रमका विभिन्न असमानता र भेदभावको सामना गरिरहेका हुन्छन्। फाउन्डेसनको रिर्पोटका अनुसार हरेक वर्ष बेलायतमा ३५ हजार महिलाहरु हृदयघात भएपछि अस्पताल भर्ना हुन्छन्। औसत रुपमा ९८ र प्रत्येक एक घन्टामा ४ जना महिला हृदयघातले अस्पतालमा भर्ना हुने रिर्पोटमा उल्लेख छ। सो रिर्पोटका अनुसार बेलायतमा स्तन क्यान्सरले भन्दा दुईपटक ज्यादा मुटुरोगका कारण मृत्यु हुने गरेको छ। लिड्स विश्वविद्यालयका कार्डियोभास्कुलर मेडिसिनका प्रोफेसर क्रिस गेलको समूहले गरेको अध्ययनमा सन् २००२ देखि २०१३ को बीचमा हजारौँ महिलाले हृदयघातका कारण इंग्ल्यान्ड र वेल्समा ज्यान गुमाएको उल्लेख छ। उनले यो समस्यालाई नयाँ नभएको बताएका छन्। विश्वभर नै महिला र पुरुषबिचको उपचारमा भिन्नता रहेको देखाएको छ। उनले यो जटिल विषय र जरा गाडेर बसेको समेत उल्लेख गरेका थिए।
हृदयघातका लक्षण के-के हुन्?
हृदयघातको लक्षण व्यक्तिपिच्छे फरक हुनसक्छ। तर, सबैभन्दा सामान्य लक्षण भनेको छातीको दुखाई वा बेचैनी हो।
- छातीको दुखाई वा बेचैनी। यो छिटो निको हुँदैन।
- शरीरमा दबाब तथा च्यापिएकोजस्तो महसुस हुन्छ।
- दुखाईका कारण बायाँ हात वा दुवै हात वा घाँटी, जोर्नी, कम्मर, मेरुदण्ड र पेटमा समस्या पार्छ।
- थकान महसुुस हुने, पसिना आउने, टाउको भारी हुने तथा श्वासप्रश्वास छिटो हुन्छ।