नेपाल समाचारपत्र
असोज १३, काठमाडौं। सरकारले दशैंको मुखमा पहिलोपटक बीपी राजमार्गमा दस्तुर संकलनको काम शुरू गरेको छ। सडकमा बढ्दो सवारी चापका कारण सडकको अवस्था जीर्ण बन्दै जाने क्रम बढेपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गबाट दस्तुर उठाउने काम शुरू गरेको हो।
सडक विभागअन्तर्गत रहेको सडक बोर्डले तीनपटक दस्तुर संकलनका लागि सूचना प्रकाशित गरे पनि ठेक्का नलागेपछि राजमार्गको चार ठाउँमा ढाट राखेर दस्तुर संकलन गरिरहेको छ। सडक बोर्डले बीपी राजमार्गको धुलिखेल, खुर्कोट, खनियाखर्क र बर्दिवास सडकलाई दुई खण्डमा विभाजन गरेर दस्तुर उठाउन कर्मचारी परिचालन गरेको छ।
सडक बोर्डले धुलिखेल–खुर्कोट सडक खण्डमा दुई वर्षको अवधिमा २३ करोड, १७ लाख, ९६ हजार १ सय रुपियाँ र खुर्कोट–सिन्धुली–बर्दिवास सडक खण्डबाट १५ करोड ३ लाख ७० हजार ४ सय रुपियाँमा ठेक्का लगाउन सूचना प्रकाशित गरेको थियो।