आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँबाट पाइन्छ ?

122

असोज १०,
काठमाडौं ।नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट आजदेखि असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिनेछ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ। यसपटक भने राष्ट्रबैंकको थापाथलीमा भने नयाँ नोट साट्न पाइने छैन्। राष्ट्र बैंकले थापाथलीमा नयाँ नोट सटहीको व्यवस्था नगरिएको जनाएको छ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक÷एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन्। त्यसभन्दा धेरै चाहिनेलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए। आफ्नो खाता भएका बैंक तथा वित्तिय संस्थाबाट पनि सिमिति मात्रामा नयाँ तथा सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार, नेपाल बैंक लिमिटेडका उपत्यकास्थित ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट पनि कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट बाँड्न थालेका छन् । राष्ट्र बैंकका अनुसार, कृषि विकास बैंकले उपत्यकाका ६ वटा शाखाबाट नयाँ नोट वितरण भइरहेकाे छ । गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ । राष्ट्र बैंकले यसका अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराएकाे छ ।