कान्तिपुर दैनिक
असोज ९, काठमाडौँ — सिस्टम ह्याक गरी एटीएम बुथबाट झन्डै दुई करोड रकम लुटिएको घटनामा प्रहरी परिसर काठमाडौंले ५ चिनियाँ र एक चिनियाँ मूलका फ्रान्सेलीसँगै दुई नेपालीलाई नियन्त्रणमा लियो । भदौ १५ को यो घटनामा ठमेलको नेपालय मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र डेक्सो मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ पक्राउ परेका हुन् । यो घटनापछि देशभरका मनी चेन्जर र तिनको कमजोर नियमनको पाटो सतहमा आयो । हुन्डी, अवैध सुन र डलर तस्करीका घटनामा बेलाबखत तानिने गरेका मनी चेन्जरहरू यसपटक बैंकिङ कसुर मुद्दामा जोडिन पुगे ।
एटीएम ह्याक गरेर निकालिएको मध्ये २९ लाख ९९ हजार रुपैयाँ यी दुई मनी एक्सचेन्जबाट साटिएको थियो । ह्याकरहरू बसेको हात्तीसारको होटलमा प्रहरी परिसर काठमाडौंको टोली पुगेलगत्तै भागेका चार चिनियाँ ट्याक्सी रिजर्भर् गरेर सोझै यी दुई कम्पनीमा पुगेका थिए । उनीहरूले आफूसँग रहेको नेपाली रुपैयाँ साट्नुपर्ने बताएपछि दुवै चेन्जर सजिलै तयार भएका थिए । प्रहरीका अनुसार रकमको स्रोत खोज्नुपर्ने र रकम साट्नेको परिचय राख्नैपर्ने प्रावधान उल्लंघन गरेर उनीहरू नाफाको लोभमा परेका थिए । नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली, २०७६ ले ‘मनी चेन्जर’ भन्नाले विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त व्यक्ति, फर्म, कम्पनी वा संस्था भनेर परिभाषित गरिएको छ । यस्ता संस्था आर्थिक अपराधका घटनामा जोडिएको यो नयाँ घटना भने होइन । नेपालमा जब विदेशी विनिमय अपचलनको मुद्दा आउँछ, त्यतिबेला प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मनी चेन्जर कम्पनी मुछिएका छन् । पछिल्लो घटना पनि यसैको निरन्तरता भएको जानकार बताउँछन् ।
असार २७ मा महानगरीय प्रहरी वृत्त बौद्धअन्तर्गतको तीनचुली चौकीले तेन्जिन सिमीजी नामक जापानीको रकम लुटेको घटनामा अनुसन्धान अगाडि बढायो । तीनचुलीस्थित घरबाटै रकम लुटिएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरीले वसन्तपुरको बी स्क्वायर मनी एक्सचेन्जरका दिनेश कार्कीलाई पक्राउ गर्यो । राष्ट्र बैंकको नियमअनुसार विदेशीको डलर सटही गरेपछि उक्त व्यक्तिको परिचय खुल्ने कागजात अनिवार्य रूपमा राख्नुपर्छ तर कार्कीले त्यसो गरेनन् । सटही कानुन उल्लंघन गरेको आरोपमा उनी पक्राउ परे र ५० हजार धरौटी बुझाएर छुटे ।