राजधानी दैनिक
असोज ८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच मंगलबार भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर भएको छ । सझदारीपत्रमा हस्ताक्षर भएसँगै अब औपचारिक रूपमै भाइचार सम्बन्ध कायम भएको छ ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौंस्थित होटल म्यारिअटमा भएको छलफलपछि दुई पार्टीबीच औपचारिक सम्बन्ध स्थापित भएको हो । सझदारीपत्रमा उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी/पार्टी अनुभव आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार÷सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन विषय उल्लेख गरिएको छ ।
समझदारीपत्रमा हस्ताक्षरसँगै मंगलबारको पहिलो कार्यक्रम सम्पन्न भएको छ भने ‘विचारधारात्मक छलफल कार्यक्रम’ जारी नै रहेको छ । अबको कार्यक्रम थप दुई सत्रमा सञ्चालन हुने नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले बताए । विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली बुधबार चीन फर्किने कार्यक्रम रहेको छ ।