नागरिक दैनिक
असोज ८, बुटवल – भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस बोकेको रुपन्देहीको बेलहिया नाकाको शब्दचित्र हो यो।
श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, कोरिया, अमेरिका, भियतनामलगायत एक सयभन्दा बढी मुलुकका पर्यटक यो नाकाबाट नेपाल प्रवेश गर्छन्। वार्षिक डेढ लाखभन्दा बढी विदेशी यही नाका हुँदै नेपाल घुम्न आउने अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले बताए। उनका अनुसार सन् २०१९ को जनवरीदेखि अगस्टसम्ममा सो नाका हुँदै ९४ हजार तीन सय ६० पर्यटक नेपाल भित्रिएका छन्।
६ लेन सडक बनाउने भनी बाटो भत्काएको नौ महिना भयो। निर्माणको काम अझै सुरु भएको छैन। भत्किएको सडकका खाल्डाखुल्डी, धुलो र हिलोले पर्यटकसँगै स्थानीय पनि आजित छन्। सडक किनारको ढल, फोहोर तथा जमेको हिलेपानी गनाएर नाक थुन्नुपर्छ। सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापन निकै कमजोर छ, जसका कारण पर्यटक यातायात व्यवसायीको तानातानमा पर्छन्। नेपाल एसोसिएसन टुर एजेन्ट नाटाका प्रदेश महासचिव चन्द्र थापा भन्छन्, ‘नाकामा पर्यटकलाई निकै सास्ती छ। न सुविधासम्पन्न यातायातको व्यवस्था छ न त पर्यटकलाई कुन ठाउँमा कसरी केमा जाने भनेर जानकारी उपलब्ध गराउने कुनै संयन्त्र छ।’ नाकाको दुरवस्थाबारे नगरपालिका, प्रदेशको पर्यटन मन्त्रालय र पर्यटन बोर्डको कार्यालयलाई पटकपटक लिखित र मौखिक ध्यानाकर्षण गराए पनि सरकारी निकायले बेवास्ता गरिरहेको महासचिव थापाले बताए।