सरकार विकास निर्माणमा सुस्त, भ्रष्टाचार बढाउनमा अग्रसर : सभापति देउवा

114

असोज २
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार विकास निर्माणमा सुस्त छ, भ्रष्टाचार बढाउनमा अग्रसर देखिएको बताएका छन् । ‘सरकार विकास निर्माणमा सुस्त छ, भ्रष्टाचार बढेको छ,’ प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै देउवाले भने, ‘वाइडबडी, न्यारो बडी, बालुवाटार जग्गा, सुन काण्डलगायत भ्रष्टाचारको छानविन सरकारले गरेको छैन। यो सरकार बनेको डेढ बर्षमा इतिहासकै धेरै भ्रष्टाचार भएको छ।’

सरकार बनेको छोटो अबधिमा संघीयदेखि स्थानीय सरकारले कर बृद्धि गरेको र महँगी नियन्त्रण गर्न नसकेर जनतालाई मारमा पारेको देउवाले बताए। जनताका आधारभुत आवश्यकतामा सरकारले ध्यान नदिएको पनि उनले बताए। ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु के तपाईंलाई बजारभाउ थाहा छरु’ देउवाले प्रश्न गरे। संसदको चालु चोथौ अधिवेशनको बिहीबार अन्त्य हुँदैछ। साथै देउवाले संविधान सर्वस्वीकार्य बनाउनका लागि सरकारले कुनै काम नगरेको आरोप लगाएका छन्। ‘म हाम्रो पार्टीको नेतृत्वमा जारी भएको संविधान प्रति गर्व गर्छु। दिवसको पूर्वसन्ध्यामा सबैलाई शुभकामना दिन चाहन्छु,’ उनले भने।

संविधानको मर्म र भावनाअनुसार काम हुन नसकेको उनले बताए। ‘सरकार बनेको डेढ वर्षसम्म संविधान सर्वस्वीकार्य स्थापित गर्ने र संघीयताको बाँकी कार्यभार पूरा गर्न असफल हुनु दुःखद हो,’ देउवाले भने, ‘सरकार एकपछि अर्को संविधान विपरीतका विधेयकहरू पेश गर्दैछ। प्रतिपक्षको कुरा नसुनेर बलजफ्ती पास गर्दैछ।’

सरकारले न्यायपालिका र संसदलाई खेलौना बनाउन उद्दत भएको पनि उनले आरोप लगाए। ‘मानव अधिकार आयोगलाई सरकार नियन्त्रण गर्न खोज्दैछ,’ उनले भने, ‘अधिकार बाँडफाँट स्थानीय तहदेखि प्रदेशमा हुन सकेको छैन। सरकार सर्वशक्तिमान बन्दैछ।’ कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारी र हत्या पत्ता लगाउन सरकारले किन नचाहेको हो भनेर पनि देउवाले प्रश्न गरे। सरकारले प्रेस जगतलाई दुस्ख दिएको पनि उनले आरोप लगाए।