अंगीकृत लिने बर्सेनि बढ्दै

116

कान्तिपुर दैनिक
असोज २, जनकपुर — नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारूढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरूबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश २ मा यो झनै चासोको विषय बनेको छ । प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइन तर पछिल्ला वर्षमा भारतीय बुहारी भित्रिने संख्या निकै बढेको छ । प्रदेश २ मा भारतबाट विवाह गरेर आउनेको संख्या हरेक वर्ष ५ हजारभन्दा बढी रहेको अनुमानित तथ्यांक छ । नेपाली चेलीको भारततर्फ बिहेवारी भने नगण्य छ ।

वैवाहिक अंगीकृत नागरिकता लिन अहिलेकै प्रावधानअनुसार पनि आधा दर्जनभन्दा बढी प्रमाण बुझाउनुपर्छ । यसका लागि ७ नम्बर अनुसूची फाराम, वडाको सिफारिस, पतिको नेपाली नागरिकता, जन्ममिति खुलेको कागजात, बुबाआमाको परिचयपत्र, विदेशी नागरिकता परित्यागका लागि गरेको कारबाहीको रसिद र विदेशी नागरिकता त्याग गरेको शपथपत्र अनिवार्य छ । तैपनि यस्तो नागरिकता लिनेको संख्या बर्सेनि दोब्बरभन्दा बढी हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट वैवाहिक अंगीकृत नागरिकता लिने महिलाको संख्या ५ वर्षयता तीन गुणाले बढेको छ । ०७१ मा धनुषाबाट २ सय ८८ महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए ।

०७६ मा भने वैशाखदेखि भदौसम्म ५ महिनाको अवधिमा मात्रै ३७२ जनाले यस्तो नागरिकता लिइसकेका छन् । धनुषाबाट ०७२ मा ३३० जना, ०७३ मा ४९० जना, ०७४ मा ६११ जना र ०७५ मा ६७९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक कर्णका अनुसार ०७१ देखि ०७६ भदौ २९ सम्म नागरिकता लिनेको संख्या २ हजार ७ सय ७१ छ । सप्तरीमा पनि पछिल्लो समय वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार यस वर्ष भदौ ३० गतेसम्म २२५ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।