बसन्तपुरमा इन्द्रजात्रा हेर्न राष्ट्रपति आउनुपूर्व २४८ थान कालो टिसर्ट बरामद

131

भदौ २७,
काठमाडौं । प्रहरीले बसन्तपुर क्षेत्रबाट पक्राउ परेकाहरु विरोध प्रदर्शन गर्ने तयारीमा रहेको बताएको छ । इन्द्रजात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुर आउने समयअघि प्रदर्शन गर्न लागेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गर्न लागेकाहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर बरामद गरेको छ । टिसर्टमा नेवारी भाषामा विभिन्न नारासमेत लेखिएको छ ।

प्रहरीले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिमा आवद्ध ललितपुर गोदावरी ५ का नारायण अर्याल, काठडमाडौं महानगरपालिका २१ का रघुराज राजभण्डारी, सुवास राजभण्डारी, काठमाडौं महानगरपालिका २० का सुनील लामालगायतलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा नेपाल प्रहरीका पूर्व डीआईजी र नेपाली सेनाका पूर्वसमेजरसमेत रहेका छन् । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले इन्द्रजात्राको समयमा विरोध प्रदर्शन गर्ने योजना बनाइरहेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको बताए ।