कृषि मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण

101

भदौ १९,
काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।

शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।मन्त्री खनाललाई हिजो (बुधबार)देखि ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको जनाइएको छ ।

अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगु हाल देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ । साउनदेखि यता मात्रै २५ सय ५९ जनामा डेंगु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।