नेपाल समाचारपत्र
भदौं १६, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि निर्वाचनका लागि उपनिर्वाचन हुन लागेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको आयोगको बैठकको निर्णयपछि सो आग्रह गरिएको हो। थपलियाका अनुसार भदौ १६ गतेदेखि मसान्तसम्ममा उपनिर्वाचनमा भाग लिन चाहने दलहरूले आयोगमा नाम दर्ता गराउनुपर्नेछ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोेजिम आयोगले सो आह्वान गरेको हो। नेकपा (एमाले) र नेकपा (माओेवादी) एकीकरण भई बनेको नेकपा तथा संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टी एकीकृत भई बनेको समाजवादी पार्टीलगायतले दल दर्ता गराउनुपर्नेछ ।
२०७४ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएका दलहरूले ती तीनवटै तहको उपनिर्वाचनमा भाग लिन भने दल दर्ता गराउनुपर्दैन। २०७४ सालमा भएको निर्वाचनपछि गाभिएका वा एकीकरण भएका वा नयाँदलले उपनिर्वाचनमा भाग लिन चाहेमा दल दर्ता गराउनुपर्नेछ। यही प्रावधानअनुसार नेकपा र समाजवादी पार्टीलगायतले दल दर्ता गराउनुपर्नेछ। ‘नयाँदल वा एकीकरण भएका दलले दल दर्ता नगराएमा उपनिर्वाचनमा भाग लिन पाइनेछैन।’ –आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले भन्नुभयो। दल दर्ता गराउन सम्बन्धित दलको विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्नको नमुना, कार्यकारिणी सभाको निर्णय २०७४ र २०७५ को लेखापरीक्षण प्रतिवेदन चाहिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो।