छटपटीका ७ वर्ष

104

कान्तिपुर दैनिक
भदौं १४, धनुषा — गणेशमान–चारनाथ नगरपालिका–१० डुमरिया खोल्मा टोलकी ४३ वर्षीय कलाशादेवी मुखिया बिनको घर पुग्दा बिहीबार उनी घाँस काटिरहेकी थिइन् । बरन्डामा काटिएको घाँसको थुप्रो थियो । त्यहीँ रहेको खाट वरपर गाईबस्तुलाई खुवाउने दाना असरल्ल थिए । गोठमा गाई, भैंसी, बाख्रा र खसी सुस्ताइरहेका थिए । कलाशादेवी घाम उदाएदेखि नअस्ताएसम्म गाईबस्तुकै वरिपरि हुन्छिन् । उनलाई लाग्छ– जति काममा व्यस्त भयो, त्यति मन भुल्छ । फुर्सद मिल्यो कि पति चन्द्रेश्वर मुखियाको यादले पिरोल्छ । मन चरक्क हुन्छ र चोट आँसु बनेर बाहिरिन्छ ।

त्यतिबेला साउदीबाट हरेक शुक्रबार चन्द्रेश्वरको फोन आउँथ्यो । चार छोरालाई वरिपरि राखी साताभरका खबर आदानप्रदान हुन्थे । अरू दिन उनलाई श्रीमान्को त्यतिबिघ्न सुर्ता हुन्नथ्यो । १ डिसेम्बर २०११ देखि चन्द्रेश्वरसँग कलाशादेवीको बोली मिसिन पाएको छैन । डुमरियाको खोल्मा टोल मकैखेतीका लागि चिनिन्छ । घरैपिच्छे मकैखेतको रेखदेख र घोगा भण्डारण गर्न काठका दुई तले मचान छन्, जसलाई स्थानीयले खोल्मा भन्छन् । प्रत्येकजसो घरमा खोल्मा रहेकाले टोलको नाम नै खोल्मा रह्यो । जनकपुरबाट ३० किमी उत्तरपूर्वस्थित यो गाउँमा वृद्धा, बालबालिका र महिला मात्र भेटिन्छन् । श्रम गर्न सक्ने पुरुष खाडी पसेका छन् । महिलाले नै खेतीपाती धानेका छन् । खेतबारी बाँझो हुन दिएका छैनन । वैदेशिक रोजगारीले टोलमा आर्थिक परिवर्तन ल्याइदिएको छ । फुस र खबटाका घर कमै मात्र छन्, धेरैजसो इँटाकै ।

चन्द्रेश्वर ५ वर्ष कतार बसेर फर्केपछि सन् २००८ तिर साउदीको मुवासत इन्टरनेसनल कम्पनीमा मजदुरीका लागि गएका थिए । कम्पनी राम्रो परेन । महिनाको ८ हजार रुपैयाँ पनि घर पठाउन मुस्किल हुन्थ्यो । कमाइ नभएपछि घर फर्केका चन्द्रेश्वरले फेरि साउदीमा १८ हजार रुपैयाँ तलब पाउने कम्पनीको भिसा पाए । साउदी पुगेपछि उनले घर खर्चका लागि एकपटक मात्र रकम पठाए । गएको २२ महिना पुग्दै थियो । दुई महिनापछि घर आउने कुरा चल्दै थियो । एक्कासि चन्द्रेश्वर बेपत्ता भएको खबर देवर राम एकवाल मुखियाले सुनाए । राम एकवाल साउदीमै काम गर्थे । ‘उनी कम्पनीबाट भाग्ने मान्छे होइनन्, अपराध गर्ने पनि होइनन्,’ त्यतिखेर कलाशादेवीले आत्तिँदै देवरलाई फोनमा अनुरोध गरिन्, ‘जसरी हुन्छ, पत्ता लगाऊ ।’

राम एकवालले १५ दिन लगाएर दाजु चन्द्रेश्वरको अवस्था पत्ता लगाए । उनी दमामस्थित मुवासत अस्पतालमा बोल्नै नसक्ने अवस्थामा भेटिए । टाउकोमा गहिरो चोट थियो । दमामको हाइवे सडकमा बाटो काट्दा तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको रहेछ । कोमामा छन् । ४१ वर्षीय चन्द्रेश्वरको शरीर चल्दैन । खाना पठाउनका लागि छातीको बीच भागमा प्वाल बनाई पाइप छिराइएको छ ।