सडक विभागमा गगन थापाको धर्ना

109

भदौ १३,
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद गगन कुमार थापाले सडक विभाग पुल्चोकमा धर्नामा उत्रिएका छन् । उनीसहित प्रदेशसभा सांसद र स्थनीयवासीले सो क्षेत्रका १२ वटा सडक अलपत्र पारिएको भन्दै धर्ना सुरु गरेका हुन् ।

सांसद थापाले यो विषयमा संसदमा मन्त्रीलाई प्रश्न सोध्दा मन्त्रीले जवाफ नै नदिएको बताएका छन् । अबको एक हप्ताभित्र सो क्षेत्रमा सडक र खानेपानीको निर्माण कार्य अघि नबढे सिंहदरबारभित्रै धर्ना बस्ने उनले चेतावनी दिएका छन । उनले भने, ‘जनतालाई सास्ती दिएर मन्त्रीलाई मस्तीसँग बस्ने छुट छैन । सडक निर्माणका लागि संघर्षको कार्यक्रम आजबाट सुरु भएको छ ।’

धर्ना कार्यक्रममा सांसद थापाले सडकबाट अवाज उठाउँदा पनि नसुनिएपछि धर्ना सुरु गरिएको बताएका छन् । उनले भने, ‘हामीले सडकबाट आवाज उठाउँदा नसुनेपछि सांकेतिक रुपम धर्ना बस्न बाध्य भएका हौं, चावहिल कपन लगायत काठमाडैं ४ का सडक लगायतका सडक निर्माणको कार्य गत बैशाखमै म्याद सकिएको थियो । सो म्यादमा २० प्रतिशत मात्रै काम भएको र फेरि पुरानै कम्पनीलाई २ वर्षको म्याद थप गर्न लागिएकोले त्यसको विरोध गरिएको हो ।’