बीबीसी, भदौ १३,
काठमाडौं । भारतले जम्मू-कश्मीर राज्यको विशेष संवैधानिक हैसियत खोस्ने दिल्लीको निर्णयपश्चात् पाकिस्तानले भारतको विरोधमा चर्को आक्रोश पोखिरहेको छ। पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले त अक्टोबर वा नोभेम्बरतिर भारतसँग युद्ध हुन सक्ने समेत बताएका छन्। “अक्टुबरको अन्त्यतिर वा नोभेम्बर-डिसेम्बरतिर भारत-पाकिस्तानबीच युद्ध हुने जस्तो देख्दैछु,” पत्रकारहरूसँग बोल्दै रेलमन्त्री अहमदले भने। “यसका लागि जनतालाई तयार पार्न लागेको छु। युद्ध हुन्छ नै भन्ने त छैन तर मोदीलाई सम्झाउन अरू ठूला मानिसले गरेको जस्तो गल्ती म गर्नेछैन।”
भारतीय हस्तक्षेपपछि कश्मीरका मुसलमानहरूले पाकिस्तानको मुख ताकेको रेलमन्त्री अहमदको दाबी छ। उनले भने, “खास कुरा के हो २४/२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकिरहेका छन्।” “सबै मतभेदलाई पन्छाएर हामी एकजुट भई कश्मीरीहरूको समर्थनमा लाग्नुपर्छ नत्र समयले हामीलाई माफ गर्नेछैन।” पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि दुवै छिमेकी परमाणुशक्तिसम्पन्न भएको र युद्ध भए केही बाँकी नरहने बताएका थिए।
पाकिस्तानी नेताहरूका चर्का टिप्पणीप्रति बिहीवार भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ। विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले प्रेस सम्मेलनमा बोल्दै भने, “पाकिस्तानको तर्फबाट निकै गैरजिम्मेवारपूर्ण वक्तव्य आइरहेका छन्।” “भारत तिनको कडा शब्दमा भर्त्सना गर्छ। पाकिस्तानको यो बयानबाजी भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो।”
पाकिस्तानी नेतृत्व तथा टिप्पणीकारहरूले निकै उत्तेजक भनाइ आइरहेको भन्दै रवीश कुमारले ट्विटरमा जिहादको कुरा गरेर उनीहरूले भारतमा अवस्था अनियन्त्रित भएको देखाउन खोजेको बताए। “तर पाकिस्तानले बुझ्नुपर्छ कि संसारले उसको चाल थाहा पाइसकेको छ। कोही पनि मूर्ख बन्नेछैनन्।”