बारीमै टहरा, रातभर पहरा

200

अन्नपूर्ण पोष्ट
भदौं १३, बैतडी । बैतडी मकैको ‘जोन’ जिल्ला हो। जिल्लामा मकै उत्पादन बढाउने र प्रशोधन गर्ने उद्देश्यसहित गत वर्ष सरकारले मकै जोन कार्यालय खोल्यो। कार्यालयले किसानलाई उन्नत प्रजातिको बिउ वितरण गर्‍यो। तर यतिबेला किसान घोगा लागेको मकै कसरी जोगाउने भनेर चिन्तिुत छन्। सुर्नया गाउँपालिका–६ शंकरपुरका केशवदत्त अवस्थी मकैबारीमा रातभर जाग्राम बस्छन्। बारीमा लगाएको मकै राति जंगली बँदेलले नष्ट गर्न थालेपछि उनको बास बारीमै हुन थालेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बैतडी मकैको ‘जोन’ जिल्ला हो। जोनकै मकै जोगाउन किसानलाई हम्मेहम्मे परेको छ। ‘राति सुतेका बेला बँदेलले मकै बाली नष्ट गरिहाल्छ’, अवस्थीले भने। जिल्लाका अधिकांश ठाउँमा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसानले खेतमै टहरा बनाएर पहरा दिइरहेका छन्। ‘दिनदिनै बथानमा आउने जंगली बँदेलले मकैबाली नष्ट गरिसक्यो। यो वर्ष भोकमरी हुने चिन्ताले सताएको छ’, अवस्थीले भने। सुर्नया–४ का पदम महरा अनिँदो बस्न थालेको एक महिना बढी भइसकेको छ। ‘बँदेलले मकै नष्ट गरेपछि परिवारलाई के खुवाएर पाल्ने भन्ने चिन्ता छ’, महराले भने।