त्रिविमा बेथिति एक व्यक्ति दुई पद

55

नेपाल समाचारपत्र

भदौं १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन्।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार उहाँले दुईमध्ये एक पद छाड्नुपर्ने भएको हो। त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको हो।

सो दफामा ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्ने व्यवस्था छ।

सोही दफाअनुसार त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षाध्यक्ष प्राडा त्रिपाठीलाई उपकुलपति नियुक्ति गर्न सिफारिस गर्नुभएको थियो। ‘सोही सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्री ओलीले तीन महिनासम्मका लागि उपकुलपतिको जिम्मेवारी दिनुभएको हो। तर शिक्षाध्यक्ष त्रिपाठीले दुवै पद ओगटी रहनुभएको छ।’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो।