राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्रीको चेतावनी

66

भदौं ११,
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक सचेत गराएका छन् । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराएका हुन् । अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलवाड भएको बताएका हुन् । बैंकहरुमा आउने तरलताको संकट पनि बचतकर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ कार्यक्रमहरु सञ्चालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए । बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेही बन्न पनि अर्थ मन्त्रीले आग्रह गरे । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरे ।