पर्यटनमन्त्री भट्टराईद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

148

भदौ ११,
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको स्थलगत निरिक्षण गरेका छन्।
बुधबार बिहान ७ बजे पोखरा विमानस्थल पुगेका उनले सिधै निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गरेका थिए । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि मन्त्री बनेर पहिलो पटक पोखरा पुगेका उनले विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन्। निरीक्षणका क्रममा पर्यटनमन्त्री भट्टराईले विदेशी लगानी भित्र्याउन पनि राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सक्नुपर्ने बताए । उनले भने, ‘यस्ता आयोजना समयमै सम्पन्न भए लगानीकर्ताहरु नेपालमा लगानीमैत्री वातावरण छ भनेर पनि आउँछन्।

। त्यसैले राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणमा ढिला गर्न हुँदैन। संघ, प्रदेश र स्थानीय तह सबैले समन्वय गरेर विमानस्थल निर्माणको उचित वातावरण कायम राख्नुपर्छ।’ उनले विमानस्थल निर्माणले गति दिएसँगै अन्तर्राष्ट्रिय उडान तथा अध्यागमनको जनशक्ति व्यवस्थाका लागि काम सुरु भइसकेको पनि जानकारी गराए । साथै विमानस्थल आयोजनाको तर्फबाट आयोजना प्रमुख विनेश मुनान्कर्मीले जग्गा अधिग्रहणको विषय ९५ प्रतिशत सम्पन्न भइसकेको र बाँकीको लागि प्रक्रिया अघि बढाइएको बताए।