Wednesday, October 7, 2026
Home अन्तर्राष्ट्रिय ब्राजिलद्वारा जी–७ देशले अमेजनको आगलागी रोक्न दिएको २२ मिलियन डलर अस्वीकार

ब्राजिलद्वारा जी–७ देशले अमेजनको आगलागी रोक्न दिएको २२ मिलियन डलर अस्वीकार

97

एजेन्सी, भदौ ११,
ब्राजिल । फ्रान्समा आयोजित जी–७ सम्मेलनमा ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न कूल २२ मिलियन डलर राशी दिने सहमति बनेको थियो । तर, ब्राजिलले भने यो सहायता राशी लिन अस्वीकार गरेको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका चीफ अफ स्टाफ ओनिक्स लोरोन्जोनीले सोमबार यसको जानकारी दिए । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका राष्ट्रपतिद्वारा जी–७ सम्मेलनमा अमेजनको जङ्गलमा लागेको आगोबारे चर्चा गरेकोमा आपत्ति जनाए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले सोमबार आगलागी नियन्त्रणका लागि जी–७ सम्मेलनका सबै देशले संकल्प गरेको राशी छिट्टै निकासा गर्ने घोषणा गरेका थिए । उक्त रकमको उपयोग अमेजनको जङ्गलमा पछिल्लो केही हप्तादेखि लागेको डढेलो नियन्त्रण गर्नका लागि गरिने बताइएको थियो ।

अमेजनको जङ्गलमा यस वर्ष ८ महिनामा ७५ हजार आगलागीको घटना दर्ज गरिएका छन् । यहाँको वर्षा वनबाट विश्वको कुल अक्सिजनको २० प्रतिशत पैदा हुन्छ । ब्राजिलका चीफ अफ स्टाफ लोरोन्जानीले सोमबार राष्ट्रपति बोल्सोनारोसँग बैठक गरेपछि जी–७ बैठकले उक्त सहयोगको सराहना गर्दै उक्त रकम युरोपकै जङ्गलमा प्रयोग गर्दा अधिक उपयोगी हुने बताए । ‘म्याक्रोले विश्वको ऐतिहासिक धरोहरमा शामिल एक चर्चमा लागेको आगो त रोक्न विफल रहे । उनी हाम्रो देशलाई के सिकाउन चाहन्छन् । म्याक्रोले पहिले आफ्नो घर र कोलोनी जोगाउन ध्यान दिए हुन्छ,’ उनले भने ।