आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदैः राष्ट्रपति दुई बजे कृष्ण मन्दिर जाने

128

भदौं ६,
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको जनविश्वास छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि ०६४ सालपछि काटिएको छ ।

राष्ट्रपति दुई बजे मन्दिर जाने
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबजारस्थित कृष्ण मन्दिरमा दिउँसो दुई बजे जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिले दिउँसो दुई बजेपछि पूजा गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

एक हजार प्रहरी परिचालन
श्रीकृष्ण जन्माष्टमीका दिन ललितपुरमा मात्र एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शनार्थीको सुरक्षाको लागि एक हजार प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । उनले भने ‘हामी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्ने छौँ । त्यसका लागि सादा र पोसाकधारी गरी करिब एक हजार प्रहरी परिचालित छन् ।’ कृष्ण मन्दिरको मेला व्यवस्थापन ललितपुर महानगरपालिका र मंगल टोल सुधार समितिले गरेका छन् । मेलामा दर्शनार्थीहरूलाई सहजीकरण गर्न पाँच सयभन्दा बढी स्वयंसेवी परिचालन गर्ने तयारी छ ।