थारू सम्मेलनमा नेकपाको असहमति

205

भदौं ५,
काठमाडौं । यही भदौ ७, ८ र ९ गते हुने थरूहटरथारूवान् राष्ट्रिय सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठनले असहमति जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन थारू राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारू सङ्घ जिल्ला समिति कैलालीले पत्रकार सम्मेलन गरी कार्यक्रममा सहभागी नहुने बताएका छन् । उनीहरूले भदौ ७, ८ र ९ गते हुने थरूहटरथारूवान् राष्ट्रिय सम्मेलनको कार्यक्रमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै राजनीतिक उद्देश्य र आधिकारिक संस्थागत आयोजक नभएका कारण आफूहरूको संलग्नता नरहने प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
थारू राष्ट्रिय मुक्ति मोर्चा जिल्ला समितिका सचिव प्रेमबहादुर डङ्गौराले थारूवान् र थरूहट सम्मेलन सबै थारूहरूलाई एकताबद्ध गर्नुभन्दा पनि विखण्डनतिर लिने गरी कार्यक्रमको आयोजना भएको भन्दै नेतृत्वविहीन, उद्देश्यविहीन कार्यक्रममा आफूहरूको सहभागिता नरहने बताए । उनले २०७२ भदौ ७ गतेको घटनामा मुछिएका व्यक्तिको नाम बेचेर राजनीतिक फाइदा लिन खोजेको पनि बताए ।

त्यस्तै, फिरुलाल चौधरीले थारूहरूको हक, हितका लागि बनेको थारू कल्याणकारिणीको समेत सहभागिता नरहेको उक्त सम्मेलनको कुनै तुक नरहेको बताउँदै आयोजक समितिमा मनोगत रुपमा केही व्यक्तिको नाम समावेश गरेकोमा आपत्ति जनाए । थारूहरूको राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भइसकेको र यो सम्मेलन नामको मात्र सम्मेलन हुने उनले बताए । थरूहटरथारूवान् राष्ट्रिय सम्मेलन आयोजक समितिले यही भदौ ७, ८ र ९ गते हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै समितिले सम्मेलनलाई कुनै राजनीतिकरुपमा नलिन सबैमा आग्रह गरेको छ ।