एकजना महिलाद्धारा चन्द्रमाको धुलोका कारण नासाविरुद्ध मुद्दा

127

एजेन्सी, भदौ ४,
काठमाडौं । अमेरिकाको ओहियोकी एकजना महिलाले अमेरिकी अन्तरीक्ष संस्था नासाविरुद्ध मुद्दा हालेकी छन् । चन्द्रमाको धुलो आफैसँग राख्न पाउनुपर्ने माग गर्दै उनले मुद्दा हालेकी हुन् । ती महिलालाई चन्द्रमामा पहिलोपटक पाइला टेक्ने निल आर्मस्ट्रंगले चन्द्रमाको सतहबाट लिएको धुलोको उपहार दिएका रहेछन् । लाउरा सिस्को नामकी ती महिलाले सो धुलो आफैसँग राख्न पाउनुपर्ने र नासाको हक नलाग्ने भन्दै मुद्दा हालेकी हुन् ।

स्मरण रहोस् लाउराका पिता निल आर्मस्ट्रंगका साथी थिए । त्यसैले उनले लाउरालाई चन्द्रमाको धुलोले भरिएको बोतल उपहारका रुपमा दिएका रहेछन् ।
लाउराका अनुसार उनका पिता टम अमेरिकी सेनामा पाइलट थिए । उनले आफ्नो कार्यकालका बेला निल आर्मस्ट्रंगसँग लामो समय बिताएका थिए ।

सन् १९७० मा लाउरालाई उनको १० औं जन्मदिनका दिन निल आर्मस्ट्रंगले एउटा चिठीसँगै चन्द्रमाको धुलो भरिएको बोतल उपहार दिएका थिए । आफूसँग रहेको चन्द्रमाको धुलो भरिएको बोतल नासालाई जफत गर्नबाट रोक लगाउन माग गर्दै उनले नासाविरुद्ध मुद्दा हालेकी हुन् । नासाले यस्ता चिजहरुका बारेमा जानकारी पाउनेबित्तिकै सर्वसाधारणबाट जफत गर्ने गरेको हुँदा आफुले जफत गर्नुअघि नै मुद्दा हालेको उनको भनाइ छ । सो चन्द्रमाको धुलाको स्वामित्व आफैंसँग रहेको उनको दाबी छ ।