विमानस्थलमा प्रहरीमाथि पूर्वयुवराज पारसले दुर्व्यवहार गरेपछि…

193

भदौ २,
काठमाडौं ।पूर्वयुवराज पारस शाहले विमानस्थल सुरक्षामा खटिएका एक प्रहरीलाई दुर्व्यवहार गरेका छन्। महानगरीय प्रहरी परिसरका अनुसार शाहले आइतबार दिउँसो विमानस्थलमा प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेर दुर्व्यवहार गरेका हुन्। थाई एयरको जहाजबाट थाइल्यान्ड हिँडेकी आमा कोमललाई विमानस्थल पुगेका पारसले छोरा हृदयेन्द्र र भान्जालाई प्रहरीले बाटो रोकेको भन्दै प्रहरीलाई धकेलेका हुन्।

पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यो दिउँसो १ बजेतिरको घटना थियो। विमानस्थल प्रहरीका अनुसार शाह सरासर आएर सई खत्रीलाई धकेलेका थिए।

‘उहाँ विदाइको लागि आउनुभएको रहेछ, भीडभाड बढी थियो, त्यहीबेला मलाई धकेल्नुभयो,’ खत्रीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘भीडभाडका कारण किन धकेल्नुभयो भन्ने सोधीखोजी गर्ने अवस्था थिएन।’ महानगरीय प्रहरी परिसरका अनुसार त्यस्तो घटनाको रिपोर्ट आएको छैन। पीडितले पनि कतै उजुरी गरेका छैनन्।

‘प्रहरीमा त्यस्तो घटनाको जानकारी आएको छैन,’ एसएसपी उत्तम सुवेदीले भने। दुई साताअघि पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड गएका थिए। बुहारी हिमानी पनि उतै छिन्। आइतबार कोमल पनि थाइल्यान्ड गएकी हुन्। कोमललाई पुर्‍याउन नाति हृदयेन्द्र, प्रेरणाका छोरासहित पारस पुगेका थिए। विमानस्थलमा पूर्व राजपरिवारको पक्षमा नाराबाजी गर्दै करिब तीन सय समर्थक त्यहाँ पुगेका थिए।