Saturday, October 31, 2026
Home पत्रपत्रिका एक वर्षमै साढे ३४ अर्बको सुन आयात

एक वर्षमै साढे ३४ अर्बको सुन आयात

161

नागरिक दैनिक
साउन २९,
काठमाडौं । भन्सार विभागका अनुसार आव ०७५/७६ मा ३४ अर्ब ६१ करोड ६५ लाख रुपैयाँको सात हजार चार सय ९३ किलो सुन आयात भएको छ। विलासी वस्तुको आयातले अर्थतन्त्रको सन्तुलनमा नै असर परिरहेकाले सुन आयात गर्दा लाग्ने भन्सार महसुल वृद्धि गरेर व्यापार घाटा नियन्त्रण गर्न सकिने पूर्व अर्थसचिव रामेश्वर खनालले बताए। ‘सुनको भन्सार महसुल बढाउँदा आयात नियन्त्रण हुन्छ,’ खनालले नागरिकसँग भने, ‘विलासी वस्तु भएकाले कर बढाएर राजस्व वृद्धि र आयात घटाउन सकिन्छ। ’ सुन आयात गर्दा डलर तिर्नुपर्ने भएकाले यसको असर मुलुकको भुक्तानी सन्तुलनमा पनि परेको छ।

विलासी वस्तु सुनमा भन्सार महसुल बढाएर व्यापार घाटा कम गर्न सकिने सुझाव विज्ञले दिएका छन्।
विभागको तथ्यांकअनुसार गत वर्ष व्यापार घाटा १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। यो मुलुकको कुल बजेटभन्दा पनि धेरै हो। गत आर्थिक वर्ष मुलुकको कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ थियो। आव ०७४/७५ मा ३१ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ र आव ०७३/७४मा २३ अर्ब २३ करोड १६ लाख रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको छ। नेपालमा सुनको आयात बर्सेनि बढ्दै गएको छ।