नेपाल समाचारपत्र
साउन २२, मनाङ । विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो । ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
मनाङका निम्न ठाउँमा यस्तो सम्झौता गरेको पाईन्छ ।
कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ ।
यस्तै चामे–स्वर्गद्वारी सडक स्तरोन्नितका लागि ११ करोड रहेको सडक डिभिजन कार्यलयको तथ्यङकमा रहेको छ । यी सबै ठेक्का एउटै कमपनीले लिएर समयमा काम नगर्दा समेत सडक डिभिजन कार्यालय मौन रहेको छ । कतै सडक डिभिजन कार्यालका कर्मचारी नै संलग्न रहेका छन् कि भनी आशंका पैदा भएको छ ।
उसो त ठेकेदार कम्पनी क्याराभानले लमजुङ र मनाङको सिमानामा निर्माण गरेको मोटरेवल पुल बगाएपछि सिधा यातायात चल्न सकेको छैन । कमजोर ठाउँमा पुल निर्माण गरेकाले पुल बगाएको जानकार बताउँछन् । यति मात्रै होइन क्याराभानले माथिल्लो मनाङको हुम्दे र ङावल जोड्ने गरी मस्र्याङ्दी नदीमा निर्माण गरेको पुल समेत भत्किएको छ ।