जहाँ छुट्टै सरकार चल्छ

195

कान्तिपुर दैनिक
साउन २१, रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकास्थित मैकोटमा साधारण काम गर्ने मजदुरले खानपानसहित दिनको ३ सय ५० रुपैयाँ ज्याला पाउने भएका छन् । सुक्खा काम गरेमा दैनिक ५ सय रुपैयाँ ज्याला निर्धारण गरिएको छ । त्यसभन्दा कडा काम गर्नेले खानपानसहित ५ सय रुपैयाँ पाउनेछन् । मैकोटमा खाद्यान्न खरिदबिक्रीको पनि मूल्य निर्धारण गरिएको छ । प्रतिमाना मकै २५, गहुँ ४५ र जौ २५ रुपैयाँका दरले बिक्री गर्नुपर्ने नियम बनाइएको छ । लोकल कुखुरा प्रतिकिलो १ हजार २ सय, राँगा, भैंसी र बंगुरको मासु प्रतिकिलो ५ सय, खसी, बोका र भेडाकोमासु प्रतिकिलो १ हजार रुपैयाँमाकिनबेच गर्नुपर्नेछ ।

पुथा उत्तरगंगा–१ र २ वडाको मैकोटमा जुवातास खेलेमा जरिवाना गर्नेदेखि विकास निर्माण के कसरी गर्ने भन्ने निर्णय पनि गाउँलेले गरेका छन् । यस्तो निर्णयमा गाउँपालिका र वडाको कुनै भूमिका छैन । यहाँ गाउँलेको दुईदिने बर्खे अधिवेशनले हिउँदेसम्मका लागि हरेक क्षेत्रको दर कायम गरेको हो । अधिवेशनले विकास निर्माण र शान्ति सुरक्षा कायम गराउन विभिन्न २३ वटा निर्णय पारित गरेको छ ।

वडा र गाउँपालिकासभा सम्पन्न भएको झन्डै दुई सातापछि गाउँलेको छुट्टै बर्खे अधिवेशन सञ्चालन भएको थियो । मैकोटमा बर्खे र हिउँदे अधिवेशन आयोजना गर्ने पुरानै चलन हो । उनीहरूले यो चलनलाई निरन्तरता दिँदै आएका छन् । यस पटकको अधिवेशनले परम्परादेखि चल्दै आएका रीतिरिवाज, चालचलनलाई निरन्तरता र परिमार्जन गर्ने निर्णय गरेको छ ।