सरकारले ल्यायो कडा नियमः बाबुआमाको खातामा पैसा जम्मा नगरे कारबाही

73

समाचारपत्र दैनिक
माघ १४, काठमाडौँ । छोराछोरीले अब आफूले पाएको तलबको निश्चित प्रतिशत रकम बाबुआमाको नामको खातामा जम्मा गरिदिनुपर्ने भएको छ । संसद् सचिवालयमा दर्ता भई प्रक्रियामा अघि बढेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ मा उक्त कुरा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार नेपालको संविधानको धारा ४१ मा उल्लिखित ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्थाअनुसार उक्त विधेयक ल्याइएको हो ।

उक्त विधेयकमा स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वाहकवालाले पालनपोषण तथा हेरचाह नगरेका वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला तथा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गरी चलाउन सकिनेछ । उक्त सेवा केन्द्रले ज्येष्ठ नागरिकलाई उत्प्रेरित गर्ने किसिमका तालिम तथा ज्येष्ठ नागरिकको स्वास्थ्य र पोषण तथा स्याहार सम्बन्धमा चेतनामूलक तालिम तथा गोष्ठी पनि सञ्चालन गर्नुपर्नेछ । विभिन्न अन्तर्राष्ट्रिय वा अन्तर सरकारी संघ, संगठन वा निजी संस्थाबाट नियमित पारिश्रमिक लिइरहेका व्यक्तिका साथै निवृत्तभरण पाएका व्यक्तिले पनि तोकिएबमोजिमको रकम बाबुआमाको प्रत्येक महिना बाबुआमाको खातामा जम्मा गरिदिनुपर्नेछ ।