‘विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ’ : प्रचण्ड

179

साउन १३,
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहले सिद्धिने या नेकपामा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ, कुनै उपाय छैन । या त सिद्धिनपर्छ ।’

नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने उनले दाबी गरे । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले बताए ।

माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले लिने पनि उनले बताए । प्रचण्डले भने, ‘यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।’

तर, नेता मातृका यादव, महेन्द्र राय यादव लगायतको उदाहरण दिँदै र नवप्रवेशीलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा पार्टी परित्याग गरेकाहरु पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ । मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’

हेग लगे त विश्वको हिरो हुन्थें
‘प्रचण्ड’ले भने कसैले नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए आफू विश्वको हिरो बन्ने बताएका छन्। ‘अहिले प्रतिक्रियावादीहरू नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टी नेताहरूलाई बदनाम गर्न र सिध्याउन लागेका छन्। षडयन्त्र र प्रचार बढी भएका छन्,’ प्रचण्डले भने,‘एक जनाले त मलाई १३ हजार मानिस मारेको भनेर झुन्ड्याउने, हेग लिएर जेल हाल्ने कुरा गर्नुभयो। मलाई हेग लगे पनि केही फरक पर्दैन। त्यो त मेरा लागि गर्वको कुरा हुन्थ्यो। किनकी विश्वभरका मानिसले एकै साथ चिन्थे। यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे। म विश्वभर हिरो हुन्थें।’ तर कसैले पनि आफूलाई हेग लैजान्छन् भन्नेमा विश्वास नभएको प्रचण्डले बताए।