साउन ९,
काठमाडौं । आगामी वर्षमा भने विजुली उत्पादनमा नेपालले फड्को मार्ने विद्युत प्राधिकरणले दावी गरेको छ । गत आर्थिक वर्षमा राष्ट्रिय प्रसारणमा ७८ मेगावाट मात्रै विजुली थप भयो । नेपाल विद्युत प्राधिकरणका अनुसार निजी क्षेत्रका आयोजनाहरुबाट यस वर्ष ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो । ६० मेगावाटको माथिल्लो ‘त्रिशुली थ्री ए’ को निर्माण सम्पन्न भए पनि ३० मेगावाटको एउटा मात्रै आयोजना सञ्चालनमा आएको छ । प्राधिकरण प्रवक्ता प्रवल अधिकारी ८८ मेगावाट बिजुली साउन र भदौ भित्रमा नै थपिने बताउँछन् ।
अझ माथिल्लो त्रिशुली थ्री एको दोस्रो युनिटको ३० मेगावाट जोड्ने हो भने यो परिमाण ११८ मेगावाट हुनेछ । साउन र भदौभित्रै १४ मेगावाटको कुलेखानी तेस्रोको व्यवसायिक उत्पादन पनि सुरु हुने छ ।
यस वर्षको अन्त्यबाट नेपालले ठूलो परिमाणमा बिजुली भारत पठाउन सक्ने प्राधिकरणका कार्यकारी निदेर्श्क कुलमान घिसिङले बताए । डिसेम्बरसम्ममा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने उनले दावी गरे ।
‘लक्ष्यअनुसार काम भयो भने माथिल्लो तामाकोसीको सहित ११५० मेगावाटका आयोजनाहरुले यस वर्षको अन्त्यसम्म उत्पादन थाल्नेछन्,’ घिसिङ भन्छन् । त्यसका लागि प्राधिकरणले आन्तरिक खपत बढाउनेदेखि भारतमा बिजुली निर्यातको विभिन्न विकल्पहरु अघि सारेको छ । देशभित्रै सार्वजनिक विद्युतीय बस चलाउन सरकारलाई अनुरोध गरिरहेको प्राधिरकरणले ग्यासको सट्टामा विद्युतीय चुल्हो प्रयोग गर्न पनि सर्वसाधारणलाई प्रोत्साहित गरिरहेको छ ।
यसैगरी आगामी ३ महिनाभित्र नेपाल भारतको पावर एक्सचेन्ज बजारमा आवद्ध हुन प्रयासरत रहेको प्रवक्ता अधिकारी बताउँछन् । उनका अनुसार यो भारतको बिजुली बेच्ने खुला अनलाइन बजार हो, जहाँ आफूलाई बढी हुने बिजुली बोलकबोलमा मूल्य बढाएर बेच्न सकिन्छ । ३ वर्षअघि ६५ प्रतिशत जनतामा रहेको राष्ट्रिय प्रसमारण्को विजुली सेवाको पहुँच हाल ७८ प्रतिशतमा पुगेको छ । अबको २ देखि वर्षभित्र सत प्रतिशतमा राष्ट्रिय प्रसारणको विद्युत पहुँच पुर्याउने लक्ष्यमा रहेर प्राधिकरणले काम गरिरहेको छ । -onlinekhabar