ज्ञानेन्द्रको कीर्तिमानी ब्याटिङमा नेपालको सहज जीत, मलेसिया ७ विकेटले पराजित

150

साउन ८,
काठमाडौं । ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । नेपाललाई जित दिलाउन प्रारम्भिक ब्याट्सम्यान मल्लले नेपालको तर्फबाट सबैभन्दा छिटो पचास रनको कीर्तिमान राखेका छन्।
२१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाए । यो नेपाली खेलाडीले सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो ।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । आठौं ओभरको अन्तिम बलमा छक्का हान्दै नेपाललाई जिताएका विनोद भण्डारी १३ रनमा अविजित रहे । प्रदिप ऐरीले १२ रन बनाए ।

यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।

सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।

यो जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै छ । यसकालागि कतारसँग अप्रत्यासित हार व्यहोरेको नेपालले बाँकी खेल भने जित्नुपर्छ ।