एजेन्सी, साउन ५,
काठमाडौं । नाइजेरियाको लागोस सहरको विमानस्थलमा उड्नका लागि टेकअप गरिरहेको विमानको पंखामा एक व्यक्ति चढे । विमानको पंखामा मान्छे चढ्दै गरेको देखेपछि विमानमा रहेका सबै यात्रु अत्तालिएका थिए । नाइजेरियाको समाचार एजेन्सीले मुर्तला मुहम्मद अन्तर्राष्ट्रिय विमानस्थलमा विमान टेकअपका लागि क्लियरेन्सको पर्खाइमा रहेका बेला एक व्यक्ति पंखमा चढ्दै गरेको देखिएको थियो ।
अजमान एयरको विमानतर्फ एक व्यक्ति आएको देखेपछि पाइलटले सुरुमा इन्जिनलाई कम गर्दै बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति उफ्रिएर विमानको पंखमा चढे र विमानको क्याबिनमा चढ्ने कोशिस गरेका थिए । चालकले तत्काल यसबारे सूचना दिएका थिए । विमानभित्र रहेका एक यात्रुले यसको भिडियो बनाएका छन् । जसमा एक व्यक्ति विमानको पंखामा हिँडिरहेको देखिएको छ । यात्रुले सुरक्षाका कारण चालक दलका सदस्यलाई ढोका खोल्न अनुरोध गरेका थिए । ती व्यक्तिलाई विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीले पक्राउ गरेर सोधपुछ गरिरहेका छन् ।