प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’ !

81

नेपाल समाचारपत्र
असार ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोख्नुभएको हो ।

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्नुहुन्छ, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता ग¥यो, त्यसलाई कसरी नराम्रो भन्ने रु’ रेग्मीले प्रश्न गर्नुभयो, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न ।

‘हामीकहाँ सन्तुलनको समस्या हो, समानुपातिक ढंगले विषयलाई ग्रहण गर्न नसक्दा समस्या सिर्जना भएको हो’ उहाँले अर्थोपार्जन नगरी प्रेस जोगिन्न भन्दै संस्था जोगाउन गरिने मिसनलाई सही ठान्ने मानसिकता आजको मूल समस्या भएको उल्लेख गर्नुभयो । करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर एक लेखमा भन्नुहुन्छ, असामान्य र अस्थिर अवस्थामा प्रेसको पहिचान हुन्छ, यस्तो बेला ठीक मिसनलाई समातेर जुन मिडियाले पत्रकारिता गर्छ, त्यसबाट उसको पहिचान बन्छ । मिसन पत्रकारिताको आवश्यकता आजको बदलिंदो अवस्थामा अझ बढेको उहाँको भनाइ छ ।

‘हामी आज इतिहासकै विशेष परिस्थितिमा छौं, यो परिस्थिति नयाँ प्रविधिले सृजना गरेको हो जसले हाम्रो जीवनका हरेक पक्षमा अपूर्व प्रभाव पारेको छ । पहिलाजस्तो अखबार, रेडियो, टेलिभिजनआदि मात्र सार्वजनिक महत्वका विषय छलफलमा ल्याउने मञ्च रहेनन्, पछिल्ला दुई दशकमा यसको स्थान नयाँ मिडियाले लिइसकेको छ, विगत दुई शदाब्दीमा नभएको परिवर्तन यी दुई दशकमा भएको छ । स्वभावतः यस अवस्थामा मिसन पत्रकारिताको महत्व बढेको छ ।’