उद्दारमा नेपाल प्रहरी सक्रिय

193

असार २८,

काठमाडौं ।

   अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।
काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर २ मा ५ हजार ७ सय २ जना, प्रदेश नम्बर ३ मा ३ हजार ४ सय ५ जना, प्रदेश नम्बर ६ मा ३ हजार १ सय १२ जना गरी प्रभावित स्थानहरुमा कूल २७ हजार ३ सय ८० जना प्रहरी कर्मचारीहरू उद्धारमा खटिएका छन् ।
उक्त बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा १/१ जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका बाटो प्रहरीले सुचारु गराएको छ । धादिङ बेनिघाटरोराङ गाउँपालिका-१० बादरेमोडस्थित पृथ्बी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सम्पूर्ण बाटो, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमानगरपालिका-२२ स्थित महेन्द्र राजमार्ग, मकवानपुर हेटौंडादेखि भिमफेदी काठमाडौं सडकखण्ड, ईलाम सूर्योदय नगरपलिका-९ ढोडेस्थित बरबोटेदेखि नयाँबजार जाने भित्री सडकखण्ड, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका-२ स्थित तल्लो डुङ्गेश्वर सियाकोट सुर्खेत सडकखण्ड लगायतमा भएको अवरोध प्रहरीले हटाई बाटो खुलाएको हो ।
यसैगरी रौतहट चन्द्रनिगाहापुर-२ स्थित पुर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुचारु, पाँचथर मेची राजमार्ग, ईलाम रोङ गाउँपालिका-४ स्थित मेची राजमार्ग, तेह्रथुम लालिगुँरास नगरपालिका-९ काडेस्थित म्याङलुङ बसन्तपुर सडकखण्ड लगायतका ठाउँमा अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ ।
कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये रामेछाप, काभ्रे, सिन्धुली, मुस्ताङ, मनाङ, उदयपुर, खोटाङ, ओखलढुङगा, मकवानपुर, महोत्तरी, रसुवा, कालिकोट, ईलाम, कपिलबस्तु, सल्यान, धनकुटा लगायत जिल्लाका विभिन्न स्थानको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।
साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यती एयरको विमान अवतरण गर्ने क्रममा धावनमार्गको थ्रेसहोल्डबाट चिप्लिएर दुर्घटना हुन पुग्दा भएको अवरोध प्रहरी समेतको सक्रियतामा हटाई विमानस्थल सुचारु गरिएको थियो ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।